दोलखामा लगानी सम्मेलनको तयारी

Wednesday, February 20th, 2019 |

८ फागुन, दोलखा । पर्यटकिय नगरी दोलखामा पहिलो पटक लगानी सम्मेलन हुने भएको छ । वाह्य र आन्तरिक लगानी भित्र्याएर जिल्लाको आर्थिक विकास र समृद्धिमा टेवा पुर्याउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको हो । दोलखाका जनप्रतिनिधिहरुले लगानी बोर्डसँगको समन्वयमा जिल्लामा लगानी भित्र्याउने पहल थालेका हुन् ।

यहि फागुनको अन्तिम वा चैत्रको पहिलो साता उक्त सम्मेलन गर्ने तयारी छ ।  सम्मेलनमा आन्तरिक तथा वाह्य सम्भावित लगानीकर्ता, वित्तीय संस्थाका प्रतिनिधि, विकास साझेदार, निजी क्षेत्र, विषय विज्ञ, सुरक्षा तथा सञ्चार क्षेत्रका उच्च अधिकारीहरुको सहभागिता रहने जनाईएको छ ।

दोलखामा लगानी गर्न सकिने सम्भाव्य क्षेत्रहरु र उपयुक्त परियोजनाहरु, त्यसका नीतिगत र प्रक्रियागत अवस्था, सुरक्षाको प्रत्याभुति जस्ता विषयहरु पनि सम्मेलनमा प्रस्तुत गर्ने तयारी छ । सम्मेलन मुल आयोजक समितिका संयोजक सांसद पार्वत गुरुङले समृद्ध दोलखा अभियानलाई सार्थक बनाउन लगानी सम्मेलनको आयोजना गर्न लागिएको बताए ।

सम्मेलनमा समृद्ध दोलखा अभियान सहित लगानीका अवसरहरु, आर्थिक विकासका लागि आगामी वर्षमा जलविद्युत, पर्यटन, कृषि उद्योग लगाएतका क्षेत्रमा लगानीका आधारपत्रहरु समेत प्रस्तुत हुने जनाईएको छ । सम्मेलनमा उत्कृष्ट पर्यटकिय गन्तव्य निर्माण, जलविद्युत आयोजना, दिगो यातायात पूर्वाधार निर्माण, कृषि तथा वनजन्य उत्पादनमा लगानीको अवसर, सुरक्षा लगाएतका विषयमा अनुभव आदानप्रदान र अन्तरक्रिया हुनेछ । सम्मेलनले पुराना परियोजनाहरुको कार्यान्वयनमा सहयोग पुग्ने र नयाँ परियोजनाहरुमा लगानीको वातावरण बन्ने आयोजकको दावी छ ।

सदरमुकाम चरिकोटमा हुने लगानी सम्मेलनका लागि प्रतिनिधिसभाका सांसद पार्वत गुरुङको संयोजकत्वमा मुल समारोह समिति गठन गरिसकिएको छ । उक्त समितिमा जिल्लाका संघिय तथा प्रदेश सांसद र अन्य सरोकारवाला पक्षका प्रतिनिधि रहेका छन् । मुल समिति अन्तर्गत विभिन्न उप–समितिहरु पनि गठन भैरहेका छन् ।

तीन नम्बर प्रदेश सरकारले दोलखालाई चौथो पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने घोषणा गरिसकेको छ । दोलखा जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा लगानीका लागि प्रचुर सम्भावना बोकेको जिल्ला मानिन्छ ।

VIEWS: 328