थामी समाज दोलखामा नयाँ नेतृत्व
८ पुष, दोलखा । नेपाल थामी समाज दोलखाको पाँचौ जिल्ला अधिवेशनले हरिश कुमार थामी (नितेश) को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । भिमेश्वर नगरपालिका वडा नम्बर–१ निवासि अध्यक्ष थामी सामाजिक क्षेत्रमा क्रियाशिल युवा हुन् । आईतवार विहान सम्पन्न अधिवेशनको वन्दसत्रले १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
बरिष्ठ उपाध्यक्षमा कालिञ्चोक गाउँपालिका–५ का होम बहादुर थामी, महिला उपाध्यक्षमा वबिता थामी र अर्का उपाध्यक्षमा बसन्त थामीलाई चयन गरेको छ । यसैगरी सचिवमा विगु गाउँपालिका–८, की देविका थामी, सह–सचिवमा भिनपा १ का विकास थामी र कोषाध्यक्षमा भिनपा २ की हिरामाया थामी निर्वाचित भएका छन् ।
सदस्यहरुमा कालिञ्चोक गाउँपालिका २ का विकास थामी, मञ्जु थामी, सोम बहादुर थामी, विरबहादुर थामी, मदन थामी, कृष्णकुमारी थामी, राजन थामी र डोल्वा थामी रहेका छन् । नवनिर्वाचित कार्यसमितिले आईतवारै सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो प्रारम्भिक योजना सार्वजानिक गरेको छ ।
पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष हरिश कुमार थामीले संस्थागत सुधार र संगठन सुदृढिकरण गर्दै समुदायको आर्थिक सामाजिक सशक्तिकरणको क्षेत्रमा काम गर्ने बताए । पत्रकार सम्मेलनमा नेपाल थामी समाजका पुर्व केन्द्रिय अध्यक्ष विन कुमार थामी, महासचिव लक्ष्मण थामी, जिल्ला सचिव देविका थामी लगाएतले मन्तव्य व्यक्त गरे ।
उद्यौली (भुमे) पर्वको अवसरमा नेपाल थामी समाज दोलखाको पाँचौँ जिल्ला अधिवेशन शनिवार सदरमुकाम चरिकोटमा सुरु भएको थियो । भुमे पर्व र अधिवेशनको अवसरमा चरिकोटको टुलिखेलबाट विशाल र्याली सुरु भई बजारको विभिन्न भाग परिक्रमापछि चरिघ्याङ पार्टी प्यालेसमा भव्य कार्यक्रममा परिणत भएको थियो ।