सांसद लामाले किनिदिए दोलखाका ५ स्थानीय तहलाई एम्बुलेन्स

Sunday, December 9th, 2018 |

२३ मंसिर, काठमाण्डौँ । प्रतिनिधिसभाका सांसद जिपछिरिङ लामाले दोलखाका पाँच ओटा स्थानीय तहलाई एम्वुलेन्स उपलव्ध गराएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष समेत रहेको लामा दोलखा जिल्लाबासि हुन् । लामाले आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी एम्वुलेन्स हस्तान्तरण गरे । आफ्ना आमा र बुबाका नाममा स्थापना गरिएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

एम्वुलेन्स पाउने स्थानीय तहमा तामाकोसी गाउँपालिका ३ जफेँ, मेलुङ गाउँपालिका वडा नं ६, बिगुँ गाउँपालिका, कालिञ्चोक गाउँपालिका वडा नं ९ तथा जिरी नगरपालिका वडा नं १ रहेका छन् । एम्वुलेन्स ती वडाहरुको स्वामित्वमा रहने गरी सञ्चालन ल्याईने बताईएको छ । एम्बुलेन्स असुविधाका कारण विरामीले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले एम्बुलेन्स उपलव्ध गराएको सांसद लामाले बताए ।

एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै सांसद लामाले कसैलाई पनि भेदभाव नगरी सेवा दिन सबैलाई आग्रह गरेका छन् । थप ५ एम्बुलेन्स हस्तान्तरण गर्ने तयारीमा रहेको जानकारी पनि त्यस अवसरमा उनले गराए ।

उनका अनुसार थप पाँच वटा एम्वुलेन्स ल्याएर दोलखाका सबै स्थानीय तहमा वितरण गरिनेछ । एम्बुलेन्स खरिदमा सांसद भएबापत आउने तलब–भत्ताको रकम खर्च गरिएको लामाले बताए । सांसद लामाले विभिन्न विद्यालय, गुम्बा र मन्दिर निर्माण लगाएत सामाजिक कार्यमा ठुलो धनराशी खर्च गर्दै आएका छन् । उनले भूकम्पमा ज्यान गुमाएका दोलखालीहरुको परिवारलाई जनहि १५ हजारका दरले राहत पनि वितरण गरेका थिए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, दोलखाका प्रतिनिधिसभा सांसद पार्वत गुरुङ र शान्ति पाख्रिनलगायतको सहभागिता थियो ।

VIEWS: 613