जुवा खालमा दोलखा प्रहरीको अप्रेशन, १८ जना पक्राउ
२० मंसिर, दोलखा । दोलखा प्रहरीले सार्वजानिक हित विरुद्ध कसुर गर्ने १८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको मेलुङ गाउँपालिका–७ स्थित शितली भन्ने स्थानमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले विहिवार पक्राउ गरेको हो ।
शितलीको एक घरको कोठामा जुवा खेल्नेहरु पक्राउ परेपनि उनीहरुको नाम प्रहरीले सार्वजानिक गरेको छैन । प्रहरीले जवा खालबाट ५२ पत्ती तास र ३ लाख २८ हजार १ सय ६५ रुपैयाँ नगद समेत वरामद गरेको जनाएको छ । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
यसैबिच जिल्लाकै भिमेश्वर नगरपालिका ६ को सिमपानी स्थित एक घरमा चोरी गरेको अभियोगमा २ जना बालक पक्राउ परेका छन् । घरमा कोही नभएको मौका पारी घर कटेरो फुटाई घरमा रहेको क्यामेरा, चाँदीको गर गहना तथा कोठाको सर सामान चोरी गरेको अभियोगमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
१० देखि १२ वर्ष उमेरका ती बालकहरु यही मंसिर १८ गते गौरीशंकर अनाथालयबाट हराएका थिए । खोजतलास गरी प्रहरीले फेला पारी घरधनीले दिएको उजुरीको आधारमा छानविन गर्दा घट्नामा उनीहरु संलग्न रहेको भेटिएको प्रहरीले जनाएको छ ।