भिमेश्वर नगरपालिकाको ७ स्थानमा एकैदिन चोरी, चार जना पक्राउ
१७ मंसिर, दोलखा । दोलखा भिमेश्वर नगरपालिका क्षेत्रमा चोरी कार्यमा संलग्न चार जना किशोरहरुलाई पक्राउ गरेको छ । भिमेश्वर नगरपालिका ६ मा आईतवार एकैदिन ७ स्थानहरुमा चोरी भएपछि प्रहरीले खोजी कार्य तिव्र पारेको थियो ।
प्रहरीले उनीहरुलाई चोरी भएको केही नगद र मोवाईल सेटहरु सहित पक्राउ गरेपनि उनीहरुको नाम भने खुलाएको छैन । प्रहरीका अनुसार उनीहरुले भिमेश्वर नगरपालिका ६ का विभिन्न स्थानमा एकै दिन सात स्थानमा रड प्रयोग गरी कोठाको झ्याल, झ्यालको भेन्टिनेसन, ढोकामा लगाएको ताला फोडेर कोठा प्रबेश गरी दराज तथा घर्रा फुटाई नगद, मोवाईल तथा गरगहना चोरी गरी फरार रहेका थिए ।
चोरी कार्यमा संलग्नहरु १० बर्ष देखी १४ बर्ष सम्म उमेर समुहका रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भईरहेको दोलखाका प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार बिभिन्न स्थानमा भएको चोरीको घटनालाई मध्ये नजर राखी शंकाष्पद ब्यक्तिको निगरानी तथा चोरी नियन्त्रणको लागी ब्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।