दोलखामा प्रकाश स्मृति कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेल दोलखाले जित्यो

Saturday, November 17th, 2018 |

१ मंसिर, दोलखा । तत्कालिन माओवादी केन्द्रका नेता स्वर्गिय साकार दाहाल (प्रकाश) को स्मृतिमा पहिलो पटक दोलखामा सर्बाधिक राशीको फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । सदरमुकाम चरिकोट स्थित टुडिखेल मैदानमा सुरु भएको प्रथम प्रकाश स्मृति कप राष्टिय फुटवल प्रतियोगिताको नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरे ।

स्वर्गिय प्रकाश प्रचण्डका एकमात्र छोरा हुन् । उनकै स्मृतिमा सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा प्रचण्ड भावुक बने । एक उदयमान युवा प्रतिभा मुलुकले गुमाएको भन्दै गर्दा उनको गला अबरुद्ध भएको थियो । अध्यक्ष प्रचण्डले खेल क्षेत्र राष्टिय एकता सुदृढ गर्ने मात्र नभई अनुशासित स्वस्थ जनशक्ति उत्पादन गर्ने र पर्यटन र राष्टको पहिचान र समृद्धिका लागि सहयोग गर्ने प्रक्रिया भएको बताए ।

रिनेजम नेपालका मिन कुमार शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा दोलखा प्रतिनिधिसभाका सांसद पार्वत गुरुंगले समृद्ध दोलखा निर्माणका लागि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । कार्यक्रममा जिल्ला फुटबल संघ दोलखाका अध्यक्ष गोविन्द श्रेष्ठ, लोप्सांग लामा लगाएतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा नेकपा ३ नम्बर प्रदेशका सचिव आनन्द प्रसाद पोखरेल, नेकपा केन्द्रिय सदस्य पशुपति चौलागाई, गंगा कार्की, देवी खड्का, मुक्ति प्रधान, प्रतिनिधिसभा सदस्य शान्ति तामांग, दोलखा १ नम्वर क्षेत्रका सांसद, विशाल खड्का, सरस्वती बस्नेत, हिमाली गोले, आंगदेण्डी शेर्पा, शंकर लामा लगाएतका नेताहरुको पनि उपस्थिति थियो । कार्यक्रममा दोलखाको खेल क्षेत्रमा योगदान पुर्याउने चार जनालाई सम्मान गरियो ।

आजको पहिलो उद्घटन खेलमा दोलखा जिल्ला फुटवल संघ र गोरखा फुटवल संघबीच प्रतिस्पर्धा भएको छ । दुबै टिमले एक एक गोलको बरावरी खेलेपछि खेल पेनाल्टी सुटआउट गएको थियो । पेनाल्टी सुटआउटमा गोरखालाई हराउँदै दोलखाको टिम विजयी भएको छ । प्रतियोगता आगामी मँसिर ७ गतेसम्म चल्नेछ । पुर्नसँगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम) को आयोजना र दोलखा जिल्ला फुटवल सँघको सह–आयोजनामा प्रगियोगिता सुरु भएको हो । प्रतियोगितामा राष्टिय स्तरका विभिन्न १२ वटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय ,तृतिय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५० हजार, १ लाख २५ हजार र ३०,३० नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजक संस्थाले जनाएको छ ।

यसैगरी प्रतियोगिताका उत्कृष्ट किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्याद अफ दि टुर्नामेन्टलाई पनि जनहि नगद १० हजार तथा शिल्ड, मेडल र प्रमाण पत्र दिईने छ । प्रतियोगिता आयोजना भएपछि चरिकोटको टुडिखेल मैदानको पनि मर्मत सुधार गरिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डका एकमात्र पुत्र प्रकाशको २०७४ साल मँसिर ३ गते हृदयघातका कारण अल्पायुमै निधन भएको थियो ।

VIEWS: 687