सिंगो पार्टी छिट्टै एकताबद्ध हुनेमा शंका गर्नुपर्दैन–प्रचण्ड
१ मंसिर, दोलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिवादका कारण पार्टी एकतामा ढिलाई भएको कुरा सत्य नभएको दावी गरेका छन् । स्थानीय तहसम्मको पार्टी एकता ढिलाई हुनुमा बिवाद नभई प्राविधिक कारणले भएको उनको प्रष्टोक्ति छ ।
दोलखा सदरमुकाम चरिकोट स्थित नेकपा कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्राविधिक कारण, नेताहरुको विदेश भ्रमण, प्रधानमन्त्रीको स्वास्थ्य स्थिति आदि कारणले एकतामा ढिलाई भएको हो, उनले भने बिवाद र अन्तरबिरोधका कारण होईन । पार्टी एकता छिटो टुंग्याउन यही ६ गते सचिवालय बैठक बस्ने जानकारी पनि उनले दिए ।
त्यसपछि प्रदेश कमिटी, केन्द्रिय कार्यसमितिको कार्यविभाजन, जिल्ला पदाधिकारीको टुंगो लाग्ने र स्थायी समितिले अन्तिम रुप दिएपछि केन्द्रिय कार्यसमिति बैठक बसेर अनुमोदन गर्ने उनले बताए ।
केही दिन भित्र तलसम्मको पार्टी कमिटी एकताबद्ध हुनेमा शंका नगर्न पनि उनले नेता कार्यकर्तालाई आग्रह गरे । एकता प्रक्रिया सकिएपछि सातै प्रदेशमा विशेष प्रशिक्षण, जनसभा लगाएत संगठन सुदृढिकरणको अभियान सुरु गर्ने उनको भनाई छ ।
पार्टी एकिकरण ऐतिहाँसिक परिघट्ना भएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले यो प्रतिक्रियावादीहरुका लागि आतंक भएको धारणा राखे । जनताले छिटो परिणाम अपेक्षा गर्ने गरेको भन्दै उनले अव सरकारले गियर बदलेर द्रुत गतिमा काम गर्नुपर्नेम जोड दिए ।