स्थायी राजधानी हेटौँडा नभए नाकाबन्दी गर्ने चेतावनी

Thursday, November 15th, 2018 |

कार्तिक,२९,दोलखा


प्रदेश ३ को अस्थायी राजधानी समेत रहेको हेटौंडालाई नै स्थायी राजधानी कायम गर्नुपर्ने भन्दै मकवानपुरबासिले दबाव सिर्जना गर्न थालेका छन् । हेटौंडालाई नै राजधानी कायम गर्ने विषयमा मकवानपुरमा क्रियाशिल रहेका राजनीतिक दलका युवक संगठनहरुले पनि चासो देखाएका छन् । युवक संगठनले राजधानी हेटौंडालाई कायम नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । संघीयताको मर्म अनुसार पनि हेटौंडा राजधानी उपयुक्त रहेको र सबै हिसाबले हेटौंडाको तुलनामा हरु सहर नभएको भन्दै युवक संगठनले नेतृत्वलाई समेत खबरदारी गरेका छन् ।

तत्कालिन नेकपा एमाले निकट युवा संघ नेपाल मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईँ प्रदेशको राजधानी हेटौंडाबाट अन्त नसर्नेमा आफू विश्वस्त रहेको बताउँछन् ।‘ हरेक हिसाबले हेर्दा हेटौंडा नै प्रदेश राजधानीको लागि उपयुक्त र सुविधासम्पन्न भएकोले यहाँबाट राजधानी नसर्ने कुरामा म विश्वस्त छु । तर, यदि जर्बजस्ती यहाँबाट राजधानी सार्न खोजे हामि त्यसको प्रतिकार गर्नेछौं । ’ अध्यक्ष चौलागाईँले भने, ‘ अन्य युवा संगठनहरुको सहकार्यमा हामी नाकाबन्दी गर्न समेत पछि हट्दैनौँ ।

त्यस्तै नेपाली कांग्रेस निकट नेपाल तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले पनि राजधानी हेटौंडाबाट अन्त लैजान खोजिए तरुण मकवानपुर कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । नेपाल तरुण दल मकवानपुरले चौतर्फी दबाब दिएर राजधानी हेटौंडा नै कायम राख्नको लागि पहल गर्ने उनले बताए ।

तत्कालिन नेकपा माओवादी केन्द्र निकट वाईसिएल मकवानपुरका अध्यक्ष सुमन पाख्रिनले ३ नं प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम गर्नको लागि वाईसिएल मकवानपुरले आन्तरिक रुपमा दबाब दिइरहेको बताए ।
आवश्यक परेको खण्डमा वाइसिएल मकवानपुर आन्दोलन गर्न समेत तयार रहेको उनले जानकारी दिए । हेटौंडालाई प्रदेशको स्थायी राजधानी कायम गर्न संगठनले सक्दो कोशिस गर्ने उनले बताए ।

नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति युवा संगठन मकवानपुरका अध्यक्ष सुदीप कार्कीले हेटौंडाबाट प्रदेशको राजधानी अन्त सार्न नदिने अडानमा आफ्नो संगठन रहेको दाबी गरे । हालसम्म आन्दोलनका कुनै योजना नबनाइएको भएपनि प्रदेशको राजधानी हेटौंडा बनाउन नयाँ शक्ति युवा संगठन लागिपर्ने उनले बताए ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरका अध्यक्ष रहेका शुक्रराज प्रजाले सबै राजनीतिक दलका युवा संगठनसँगको सहकार्यमा ३ नं प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम गर्न दबाब दिने बताए । हेटौंडा सबै हिसाबले प्रदेशको राजधानीको लागि उपयुक्त रहेकोले अन्त सार्न खोज्नु गलत रहेको उनको भनाइ थियो ।

VIEWS: 211