अनाथ वालवालिकालाई समाजसेवी प्रधानको सहयोग

Thursday, November 15th, 2018 |

२८ कात्तिक, दोलखा । समाजसेवी पद्मा प्रधानको आर्थिक सहयोगमा दोलखाको गौरीशंकर वालगृहका वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । दोलखा भिमेश्वर नगरपालिका–२ नक्षटोल पुख्र्यौली घर भई हाल अमेरिका बस्ने प्रधानले उपलब्ध गराएको आर्थिक सहयोगमा २४ जना वालवालिकाहरुले न्यानो कपडा पाएका हुन् ।

उज्यालो भविष्य नामक संस्थाका अनुसार समाजसेवी प्रधानबाट प्राप्त ५० हजार रुपैयाँ बरावरको रकमबाट ज्याकेट, ट्याकसुट, हाईनेक, टोपी लगाएतका कपडा वालवालिकाहरुलाई प्रदान गरिएको छ । बुधवार आयोजित एक कार्यक्रमकाबीच जिल्ला न्यायधिस तेज बहादुर खड्काको हातबाट उक्त कपडा बितरण गरिएको संस्थाका अध्यक्ष राजन बस्नेतले जानकारी दिए ।

हिमाली जिल्ला दोलखा जाडोयाममा अत्याधिक चिसो हुने गर्दछ । जसका कारण न्यानो अभावमा वालवालिकाहरुको दैनिकी कष्टकर हुन्छ । समाजसेवी प्रधानको सहयोगमा न्यानो कपडा पाएपछि वालवालिकाहरुले खुसि व्यक्त गरेका छन् । सदरमुकाम चरिकोट नजिकै रहेको वालगृह २०५३ सालदेखि संचालनमा छ । यहाँ हाल विभिन्न जिल्लका ७ देखि १७ वर्ष उमेर समुहका २४ वालवालिका छन् ।

समाजसेवी प्रधानले आफ्नो कमाई कटाएर नेपालका अतिविपन्न, अशिक्षित, असहाय व्यक्ति, परिवार तथा समुदायको हित तथा उद्धारमा खर्च गर्दै आएकी छन् । प्रधानकै आर्थिक सहयोगमा एक दर्जन गरिब परिवारका वालवालिकाहरु चितवनका दुई वटा विद्यालयमा अध्ययनरत छन् ।

VIEWS: 439