दोलखामा पुर्व माओवादी केन्द्र ऋणमुक्त ?

Saturday, November 3rd, 2018 |

१७ कात्तिक, दोलखा । पुर्व माओवादी केन्द्र दोलखाको हरेकजसो बैठकहरुमा पेचिलो र गम्भिर रुपमा उठ्ने एउटा विषय हो चुनावी ऋण । ऋणकै विषयमा आउने तिब्र आलोचना नेताहरुको ठुलो टाउको दुखाईको विषय बन्ने गरेको छ । ऋणकै विषयले धेरै नेता कार्यकर्ताको सम्बन्ध समेत बिग्रिएको बताईन्छ ।

एमालेसँग पार्टी एकिकरणका कारण अन्तिम भनिएको सचिवालय बैठकमा पनि यो विषयले प्रवेश नपाउने कुरै भएन । उक्त बैठक स्रोतका अनुसार बोल्ने सचिवालय सदस्यहरुले एकतामा जानुपुर्व ऋण र चल अचल सम्पति स्पष्ट पार्नुपर्ने आवश्यकता औल्याएका थिए ।

कतिपयले त ऋणकै कारण गाउँमा अझै मुख देखाईसक्नु नभएको भन्दै जिल्ला नेतृत्वको ध्यानाकर्षण समेत गराएका थिए । अहिलेपनि चुनावी ऋण बाँकी रहेको कतिपय नेता कार्यकर्ताको भनाई छ ।

जिल्ला र स्थानीय तहमा पार्टी एकिकरण पुर्ण रुपमा टुंगिनसकेको बेला कतिपय नेता कार्यकर्ताहरु भने यसलाई अझै छलफलको विषय बनाएर स्पष्ट पार्नुपर्ने पक्षमा छन् ।

माओवादी केन्द्रभित्र विशेषगरी २०७० सालदेखि स्थानीय तह, प्रादेशिक र प्रतिनीधिसभा निर्वाचनको ऋण तिर्न बाँकी रहेको कार्यकर्ताहरु बताउँछन् । उनीहरुका अनुसार चुनावी प्रयोजनका लागि पार्टीबाट लगिएको रकम कतिपय व्यक्तिले गायव बनाएको प्रसंग पनि उठ्ने गर्छ ।
तर पार्टीको संस्थागत ऋणको व्यवस्थापन आफ्नो कार्यकालमा भएको माओवादी केन्द्रको तत्कालिन जिल्ला ईन्चार्ज नेतृ देवी खड्काको भनाई उदृत गर्दै एक जिल्ला नेताले भने ।

VIEWS: 466