आंशिक रुपमा चल्यो कालिञ्चोक केबलकार, पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा
१७ कात्तिक, दोलखा । दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र कालीञ्चोकमा केबुलकार सञ्चालमा आएको छ । कालिञ्चोक दर्शन लिमिटेडले शनिवारदेखि आंशिक रुपमा केवलकार सञ्चालनमा ल्याएको हो । कालीञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले प्रारम्भिक चरणमा आंशिक रुपमा मात्रै केबलकार सेवा सुरु भएको जानकारी दिए ।
उनका अनुसार परिक्षणकै रुपमा रहेको र पुर्ण व्यवसायीक रुपमा केबुलकार सञ्चालनमा आउन अझै एक महिना जति समय लाग्नेछ । केबुलकारमा जम्मा ४ वटा डब्बा रहेकोमा हाल एउटा डब्बा कार संञ्चालनमा ल्याईएको छ । त्यसमा एक पटकमा दश जनाले यात्रा गर्न सक्नेछन् । तर व्यवसायीक सेवा सुरु नभएकाले उक्त सेवा तत्कालै नियमित नहुनपनि सक्छ ।
सम्भवतः प्रधानमन्त्री वा पुर्व प्रधानमन्त्रीबाट औपचारिक उद्घाटन गराएर केबुलकारको ब्यवसायीक सेवा सुरु गर्ने कालिञ्चोक दर्शन लिमिटेडको तयारी छ ।
कुरी बजारदेखि कालिञ्चोक मन्दिरसम्म करिव १ किलोमिटरको दुरीमा केबुलकार सञ्चालनमा आएपछि विशेषगरी पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने सरोकारवालाहरुको विस्वास छ । केबलकारले कालिञ्चोक क्षेत्र भ्रमण गर्ने पर्यटक र मन्दिर दर्शनका लागि आउने दर्शनार्थीहरुलाई आवतजावत गर्न सजिलो हुनेछ ।
कालिञ्चोक गाउँपालिकामा पर्ने कालिञ्चोक क्षेत्रमा सञ्चालनमा ल्याईएको केबलकार मुलुककै तेस्रो केवुलकारको रुपमा दशैँ अघिनै परिक्षण सुरु गरिएको थियो । साँढे दुई वर्षअघि निर्माण शुरु गरिएको केबुलकार स्वीस प्रविधिबाट निर्माण भएको हो । कुल ४५ करोड बरावरको लागतमा केवुलकार निर्माण सम्पन्न भएकोे कालिञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।
अधिकृत शिवाकोटीका अनुसार केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति पाँच सय शुल्क लिएर सेवा प्रदान गरिँदैछ ।
सर्वसाधारणलाई पाँच सय रुपैयाँ शुल्क लिएपनि कालीञ्चोक क्षेत्रका बासिन्दालाई सहुलियतमा केबुलकारको सेवा लिन सक्ने शिवाकोटीले बताए ।
सञ्चालकहरुका अनुसार केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको छ।