सालकको छाला र खपटा सहित दोलखा र रामेछापका दुई युवक पक्राउ
२८ असोज, दोलखा । दुर्लभ बन्यजन्तु सालकको छाला र खपटा सहित दोलखा र रामेछापका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा शैलुंग गाउँपालिका १ का २८ वर्षिय ज्ञान बहादुर श्रेष्ठ र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका २ निवासि १९ बर्षिय देवराज श्रेष्ठ रहेका छन् ।
केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) महाराजगंगबाट खटिएको प्रहरी टोलीले उनीहरुर्ला राजधानीको बालाजुबाट पक्राउ गरेको हो । संरक्षिय वन्यजन्तु सालकको छाला सहितको खपटा –आखेटोपहार) ओसार पसार गरी खरिद बिक्री गर्न भनि बोकी ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको सिआईबीले जनाएको छ ।
उनीहरुको साथबाट सिआईबी टोलीले १ केजी एक सय ग्राम बरावरको सालकको छाला र खपटा बरामद गरेको छ । उनीहरुलाई आवश्यक कानुनी कारवाहीका लागि डिभिजन वन कार्यालय, हात्तिसार बुझाईएको सिआईबीका प्रबक्ता प्रहरी, उपरिक्षक सानुराम भट्टराईले जानकारी दिए ।
राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्टिय व्यापार नियन्त्रण ऐन २०७३ ले संरक्षित वन्यजन्तु मार्ने, आखेटोपहार राख्ने, खरिद विक्रि गर्ने वा ओसार पसार गर्ने बन्देज गरेको छ ।
त्यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच लाखदेखि दश लाख रुपैँयासम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।