विजयादशमीको महत्व

Thursday, October 11th, 2018 |

विजयादशी २०७५ समस्त देश विदेशमा रहेका हिन्दू धर्मावलम्बीहरुको घरदैलो, मन र मस्तिष्कमा आइपुगेको छ । बालवालिका, युवायुवती लगायत बुढापाकाले समेत दशै कसरी मनाउने, के के किन्ने भन्ने योजनामा लीन छन् । प्रत्येक साल दशैंका लागि एउटा विशेष योजना बोकेर नयाँ जोश र जाँगरका साथ नेपाली हिन्दूहरुले दशैं मनाउने गर्दछन् । विशेष गरेर नेपालीहरुको लागि यो पर्व विशेष, व्यापक र गहन महत्व छ ।
धार्मिक, सांस्कृतिक एवं भातृत्व प्रेमका हिसावले यो पर्वको आफैंमा विशेष महत्व रहेको छ । हाम्रो समाजमा आउनु सबै प्रकारका चाडपर्वले सामाजिक रुपमा द्वेष मनमुटाव एवं आपसी कलहलाई हटाउँदै आत्मीयता, आपसी विश्वास र सहकार्यले सन्देश दिने गर्दछ । चाडपर्वहरुका यिनै सुन्दर पक्षहरुले गर्दा नै चाडपर्वहरुप्रति मानवीय लगाव र अभिरुचि रहने गर्दछ । पर्वहरुमध्ये नेपालमा विजयादशमीको विशेष महत्व छ । यसको धामिर्क एवं सांस्कृतिक पृष्ठभूमिको साथै राज्यले दिएको महत्व र मान्यताले पनि नेपालीहरुका लागि सबैभन्दा ठूलो चाडको रुपमा चिनिन्छ ।
हिन्दू संस्कृतिमा जे–जति चाडपर्व मनाइन्छन्, सबै चाडले आफ्नो विशेष पहिचान बोकेका छन् । हिन्दू धर्मका चाडपर्व सम्पन्नताका प्रतिक पनि हुन् । नयाँ–नयाँ लुगा लगाउने, मिठो खाने, इष्टमित्रलाई बोलाएर खाना खुवाउने, गरीबहरुलाई दान दिने जस्ता कार्य गर्दै उत्साहपूर्वक चाडपर्व मनाइन्छ । यसको पृष्ठभूमिमा पनि धार्मिक र वैज्ञानिक आधारहरु छन् । हिन्दू संस्कृतिमा बताइएका सबै श्लोक, कर्म क्रियाहरुलाई आजका वैज्ञानिकहरुले पुष्टि गर्न बाध्य भएका छन् । उनीहरु भन्दछन् कि मानव जातिका कल्याण, मनुष्यको विकास र विश्वशान्तिका लागि हिन्दू ऋषिमुनिहरुको व्यापक खोज गरी बताएका पद्धति आजको लागि अति नै आवश्यक छ ।
विजयादशमी विजयका प्रतीक हुन् । समाजमा राक्षसहरुको अन्याय र अत्याचार बढ्दै गइरहेको थियो । सम्पूर्ण हिन्दू समाज भय र त्रासको वातावरणमा व्याप्त थियो । सबै देवीदेवता चिन्तित थिए, त्यो बेला माँ दुर्गा शक्तिले ती सम्पूर्ण दुष्ट राक्षसहरुलाई सर्वनाश गरी हिन्दू समाजको उद्दार गरियो । यस पर्वलाई अधर्ममाथि धर्मको विजयको रुपमा पनि पुजिन्छ । यस पर्वको अवसरमा प्रत्येक हिन्दूहरुले अधर्मको विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गर्दछ । एकअर्काका लागि मरिमेट्ने बचनबद्धता कट गर्दछन् । शस्त्र र शास्त्रको पनि पूजा गरिन्छ ।
असत्यमाथि सत्यको विजयको प्रतिक दशैंको यस्तो महिमालाई आजकाल समाजमा विकृत पारिएर भड्किलो दशैं मनाउने प्रचलन बढिरहेको छ । यस्तो पावन अवसरमा एकअर्कामा माया प्रेम, विछोडिएको सम्बन्ध पुनः गाँस्ने अवसरको रुपमा पनि लिइन्छ । आपसी मनमुटाव, रीस, द्वेष त्यागेर दशैं मनाउनु राम्रो हुन्छ । यस अवसरमा आफूभन्दा मान्यजनबाट आशीर्वाद लिएर, मिठो मिठो परिकार खाएर, पिङ खेली रमाउने प्रचलन छ । आफ्नो घाँटी हेरी हाड निल्ने गर्नु पर्दछ । आफ्नो गच्छे अनुसारको खर्च गर्ने, दशैं मनाउनु पर्छ भनेर ऋण लिई लिई दशैं मनाउने प्रचलन त्याग्नु राम्रो हुन्छ ।
अवको पर्यटनको स्वरुप र यसको प्रबद्र्धनको तौर तरिकालाई देशको सम्भावनाहरुसँग जोडेर अघि बढाउनु छ । जसले मात्र नेपालको पर्यटनलाई समृद्ध र सम्पन्न बनाउन सकिन्छ । यसमा नेपालमा मनाइने विविध पर्वहरु उपयुक्त माध्यम हुन सक्छन् । ब्राजिलको सम्बा महोत्वस, स्पेनको टोमाटो महोत्सव होस् वा भारतको कुम्भ मेला नै किन नहोस् यी पर्व ती देशका पर्यटकहरु आकर्षक बन्ने माध्यम बनिरहेकै छन् । त्यसैले अवको नेपालको पर्यटन पबद्र्धनको लागि पर्व पर्यटनमा विशेष जोड दिनु पर्छ ।
नेपाल सदियौंदेखि विभिन्न जातजाति र विविध संस्कृतिको एउटा केन्द्रको रुपमा रहँदै आएको छ । जसका विभिन्न रोचक र खोजपूर्ण तथ्यहरु रहिआएका छन् । यसमा नेपालीले मनाउँदै आएका विभिन्न जात्रा, पर्व तथा सांस्कृतिक समारोहहरु विदेशीका लागि नयाँ, नौलो र अत्यन्तै रोचक अनुभव गराउने हुन्छन् । एउटा अमेरिका वा यूरोपको पर्यटकले नेपाल आएर दशैं मनाएर टिका जमरा लगाएर आर्शीवाद थाप्न पाउनु उसका लागि कम्ति उत्साह र महत्वको विषय होइन । त्यस्तै तिहारमा कुनै नेपाली चेलीको दाजुभाई बनेर भाइटिका थाप्नु वा कुनै नेपाली दाजुभाइको दिदीबहिनी बनेर विदेशीले टीका लगाइदिनु उसका लागि रोचक र नौलो अनुभव साथै गौरवको विषय पनि हुन सक्छ ।
त्यस्तै, लिम्बूहरुसँग धान नाँच नाच्दै र मनाउनु अथवा थारुहरुसँग लट्ठी नाँचमा सहभागी हुन पाउनुले विदेशीलाई पक्कै खुशी बनाउछ । अहिले पनि हरेक वर्ष असार १५ मा आयोजना हुने रोपाईँ महोत्सव होस् वा शिवरात्री तथा फागुपूर्णिमा जस्ता पर्वमा विदेशीहरुको सहभागिता र उत्साह देख्न सकिन्छ । तर, अहिले विदेशीहरु यस्ता पर्वमा सहभागी हुन नेपाल आउने भन्दा पनि नेपाल आएका अवसरमा यस्ता पर्वमा सहभागी मात्र हुने गरेका छन् । जसलाई हामीले अब पर्व पर्यटनका रुपमा विकास गर्नुपर्छ । विदेशीलाईै दर्शैंतिहार मनाउन नै नेपाल बोलाउन सक्नुपर्छ । जसले लाखौं विदेशीलाई आकर्षित गर्नेछ । विदेशमा सामान्य जात्रा र पर्वलाई पनि व्यवसायिकरण गरेर पर्यटक भित्र्याइरहेको सन्दर्भमा नेपालले पनि पर्व पर्यटनलाई तुरुन्त अघि बढाउन आवश्यक छ ।

राजु थापा – अध्यक्ष न्यू भिजन नेपाल

VIEWS: 523