जनतालाई सफल व्यवसायी बनाउँदै जनमुखी
२४ असोज, दोलखा । दोलखा बैत्यश्वर गाउँपालिका–५ का धेरै सर्वसाधरणले सफल ब्यवसायीको परिचय बनाउन थालेका छन् । केही वर्षअघिसम्म आर्थिक संकटबाट गुज्रिरहेका उनीहरु स्थानीय सहकारी संस्थाहरुले ऋण लगानी गरिदिएपछि व्यवसायमा जोडिएर सफल बन्न थालेका हुन् । व्यवसायी बनेसँगै उनीहरुको परनिर्भरता अन्त्य हुँदै गएको छ ।
तिनै मध्येका एक व्यवसायी हुन, बैत्यश्वर गाउँपालिका ५ काब्रेका पोखल बहादुर घिमिरे । आर्थिक अभावकै कारण चाहेर पनि केही गर्न नसकेका घिमिरेलाई स्थानीय जनमुखि बचत तथा ऋण सहकारी संस्थाले व्यवसायको बाटो खोलिदियो । जनमुखीले १ लाख ५० हजार ऋण उपलव्ध गराउने भएपछि उनले मोटर वर्कसप खोल्ने योजना बनाए । जनमुखि र जनसचेतन साकोसको ऋण सहयोगमा उनले २०६६ सालबाट थ्री ब्रदर्स मोटर वर्कसप सञ्चालनमा ल्याए ।
उनका अनुसार वर्कसपको सम्पर्ण खर्च कटाएर अहिले मासिक ४० हजार रुपैयाँ आम्दानी भैरहेको छ । बार्षिक आम्दानी करिव ५ लाख जति हुन आउँछ ।
मासिक जनही २५ हजार रुपैयाँ तलवमा ४ जना मिस्त्रीले रोजगारी पाएका छन् । सटर भाडा, विद्युत महसुल र अन्य मेसिनरी सामान खरिद तथा मर्मत सम्भारको खर्च बाहेक उक्त आम्दानी हुने घिमिरेको भनाई छ । वर्कसप व्यवसायका कारण उनको छोरा समेत स्वरोजगार बनेका छन् । “यही व्यवसाय सुरु भएपछि छोरा विदेश पठाउनुपरेन, खुसि हुँदै घिमिरेले भने, अहिले १२ जनाको परवार धानेको छु ।”
वर्कसपकै आम्दानीबाट घिमिरेले १२ जनाको परिवार पाल्नुका साथै उनीहरुको शिक्षादिक्षाको व्यवस्थापन गरिरहेको बताए । त्यस अतिरिक्त स्थानीय ५ वटा सहकारी संस्थाहरुमा मासिक ७ हजार भन्दा बढि वचत गरिरहेको र ऋणको किस्ता समेत तिर्न पुगेको उनले जानकारी दिए ।
करिव साँढे ७ लाख बाट सुरु गरेको वर्कसपमा मात्रै हाल ४० लाख बरावरको सम्पति रहेको उनले सुनाए ।
“सहकारीकै कारण हाम्रो आर्थिक जिवनस्तर बदलिएको हो, पोखल बहादुरले आफ्नो अनुभव सुनाउँदै भने, म जस्ता सयौँलाई सहकारीले व्यवसायी बनाएको छ ।”
यसैगरी बैत्यश्वर ५ काब्रेकै खिम प्रसाद दाहाल पनि जनमुखी सहकारीले ऋण सँगै कृषि तालिम समेत दिएपछि अगुवा कृषकको परिचय बनाएका छन् । सहकारीको साहराकै कारण आफु सफल कृषक बन्न सकेको उनले बताए । उनले आलु र गोलभेडाको व्यवसायीक उत्पादन गर्दै आएका छन् । त्यसबाट म वर्षमा चार लाखसम्म बचत गर्दैछु, उनले भने । आलु र गोलभेडाको अलवा उनले भैसी र बाख्रा पालन समेत गर्ने गरेका छन् । ती व्यवसायबाट बार्षिक १२ देखि १५ लाखसम्मको आम्दानी भैरहेको उनको अनुभव छ ।
जनमुखीकै ऋण सहयोगमा स्थानीय कृतीकुमारी खड्का (दाहाल) स्वीटर, मोजा, टोपी लगाएतका सामग्री उत्पादन व्यवसाय गर्छिन् । श्रीमानको मृत्यु पछि बेसाहारा जस्तै बनेको आफ्नो परिवारको साहरा सहकारी बनेको उनले बताईन् । उक्त व्यवसायबाट उनले छोरालाई ईन्जिनियर पढाउनुका साथै एक्लैले चार जना परिवारको गुजारा चलाउँदै आएको बताउँछिन् ।
उनले कृती होजियारी स्टोर मार्फत बार्षिक खर्च कटाएर ५० हजारसम्म बचत गरिरहेको जानकारी दिईन् ।
जनमुखीका अध्यक्ष सिताराम दाहालका अनुसार संस्था स्थापनाको २१ वर्षको अवधिमा लगभग ७ सय सेयर सदस्यहरु व्यवसायी बनिसकेका छन् । सहकारीले करिव ६५ करोड बरावरको आर्थिक कारोवार गर्दै आएकोमा ५४ करोड जति व्यवसायमै लगानी भएको उनले बताए ।
जनमुखी बचत तथा ऋण सहकारी संस्थामा हाल १६ हजार सर्वसाधरण सेयर सदस्य बनिसकेका छन् । जेष्ठ सेयर सदस्यलाई मासिक भत्ता, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती, अनाथ बालवालिकालाई सहयोग लगाएतका सामाजिक काम समेत गर्दै आएको छ ।
यस सहकारीले अहिलेसम्म कृषि व्यवसायको लागि २ सय १ जना र व्यापारको लागि ४ सय ५७ जनालाई ऋण सहयोग गरिसकेको संस्थाका सचिव राजन दाहालले जानकारी दिए ।