हिन्दु नेपालीहरुको महानपर्व वडादँशै सुरु, ९ बजेर ५१ मिनेट टिकाको उत्तम साईत
२४ असोज, काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडा दशैं आबाट सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना मनाईदैछ । शुद्ध माटो र गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक जमरा बीजारोपण गरी घटस्थापना मनाईन्छ ।
नौ दिनसम्म पुजा आरधना गरी नवरात्र मनाईन्छ । दशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाउने चलन छ । वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपूर्वक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ ।
नवरात्रको पहिलो दिन घटस्थापनाको दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ । ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने विस्वास छ ।
यसैगरी तेस्रो दिन चन्द्रघण्टाको पूजा आराधना गरिन्छ भने चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्राप्त हुने पौराणिक मान्यता छ । पञ्चमी तिथिका दिन स्कन्धमाता र नवरात्रीको छैटौं दिन कात्यायनी माताको पूजा आराधना गर्ने गरिन्छ ।
यस्तै नवरात्रको सातौं दिन अर्थात् सप्तमीमा पूजा कोठा वा दशैं घर मा फूलपाती भित्राउने चलन छ । सप्तमीको दिन तुलजा भवानीको यात्रा बिहान ९ बजेर २१ मिनेटमा र स्थिराशन बिहान १० बजेर २ मिनेटमा निर्धारण गरिएको छ ।
नवरात्रको आठौँ दिन दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख छ । घटस्थापनाको नवौं दिन अर्थात् नवमी तिथिका दिन सिद्धिदात्री भगवतीको पूजा आराधना गरिन्छ ।
यस वर्षको विजया दशमी अर्थात दशैंको टीका कात्तिक २ गते शुक्रबार परेको छ । यसदिन सूर्योदयदेखि सूर्यास्तसम्मको समयावधिमा उत्तम बारबेलालाई सूर्योदय र सूर्यास्तलाई आधार मानेर टीकाको शुभसाइत निर्धारण गरिएको हुन्छ ।
विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जन र बिहान ९ बजेर ५१ मिनेटमा दशैंको टीका थाप्ने उत्तम साइत तय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अनुसार टीका लगाउन दिनभरि नै शुभ मानिएपनि ९ बजेर ५१ मिनेटलाई उत्तम मानिएको छ ।
मान्यजनहरुबाट देवीको प्रसादस्वरुप रातो टीका र जमरा ग्रहण गर्ने तथा आशिर्वाद ग्रहण गर्ने चलन छ ।
कात्तिक ६ गते मंगलबार सबै बलि पूर्ति गरी जमरा सेलाउने र कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि बडादशैं समापन भएको मानिन्छ ।