किन हुँदैन प्रसिद्ध पर्यटकिय गन्तव्य कालिञ्चोकको व्यवस्थापन ?

Wednesday, September 26th, 2018 |

१० असोज, दोलखा । दोलखाको प्रसिद्ध पर्यटकिय गन्तब्य कालिञ्चोकले व्यवस्थापनको अभावमा आफ्नो प्राकृतिक सौन्दर्य गुमाउँदै गएको छ । सामान्य घरटहरा देखि रिर्सोट लगाएतका भौतिक संरचना निर्माण हुने क्रम अनियन्त्रित छ । त्यसको नियमन देखि उचित व्यवस्थापन गर्न सम्बन्धित निकायले गम्भिर चासो नदिँदा समस्या बढ्दै गएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको आवागमन व्यापक हुने भएकाले ब्यापारिक उदेश्यले कुरी र घ्याङडाँडा क्षेत्रमा भौतिक संरचना बनाउने होडबाजी छ । आसपासको रुखविरुवा कटान, चोरी निकासिले पनि तिव्रता पाईरहेको छ ।  वातावरणीय प्रदुषण पनि बढ्दो छ । कालिञ्चोक दर्शन प्रालीले झण्डै ४० करोड लगानी गरेर केवुलकार संचालन कार्य समेत अन्तिम चरणमा पुर्याएको छ ।

स्वामित्व विवादले समस्या
कालिञ्चोक मन्दिर र त्यस आसपासको सार्वजानिक जग्गाबारे विगत लामो समयदेखि स्वामित्व विवाद छ । कालिञ्चोकको सार्वजानिक क्षेत्रलाई खासगरी गुठी र वनले आफ्नो दावी गरिरहेका छन् । सार्वजानिक वन क्षेत्र भित्र पर्ने भएका कारण व्यवस्थापनको जिम्मा आफुले पाउनुपर्ने वनको दावी छ । जिल्ला वन कार्यालयले केही वर्षअघि नियम बिपरित बनाईएका केही भौतिक संरचना भत्काएको पनि थियो ।

यता गुठिले पुरानो लालमोहरलाई आधार मान्दै स्वामित्व आफ्नो भएकाले त्यहाँको व्यवस्थापन पनि आफुले गर्न पाउनुपर्ने दावी गर्दै आएको छ । कालिञ्चोक गाउँपालिका–६ स्थित झरेनी सामुदायिक वन र गुठीबीचको बर्षौदेखिको बिवाद समाधान गर्न सम्बन्धित निकायले भने खासै तदारुकता देखाएका छैनन् ।

पछिल्लो समय प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको एउटा समितिले त्यहाँको रेखदेख र व्यवस्थापन गर्ने जिम्मा लिएको छ । कर संकलन र खर्चरी समेत सोही समितिले उठाउँदै आएको छ । यद्यपी उक्त समितिले कर संकलन बाहेक अन्य व्यवस्थापकिय कार्य गर्न सकेको छैन ।

भुमिसुधार र नापी विभागको निर्देशनमा जिल्ला मालपोत र नापी कार्यालयले कालिञ्चोक क्षेत्रको नाप नक्सा गर्ने प्रक्रिया समेत अघि बढाईसकेका थिए । तर गाउँपालिकाको पत्रपछि उक्त योजना समेत रोकिएको छ । स्थानीयबासि समेत गुठी र वनले व्यबस्थापन गर्नुपर्नेमा विभाजित देखिएका छन् ।

गाउँपालिकाको छुट्टै योजना
स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ बर्ष बित्न लाग्दा समेत गाउँपालिकाले पनि उक्त पर्यटकिय क्षेत्रको व्यवस्थापनबारे ठोस योजना बनाउन सकेको छैन । यद्यपी गाउँपालिकाको बुधवार बसेको बैठकले कालिञ्चोक मन्दिरको डिपिआर, बुकेनीडाँडामा गेट निर्माण, मन्दिरसम्म पुग्ने गोरेटो बाटोको मर्मत सम्भार, कर संकलन लगाएतका विषयमा निर्णय भने गरेको छ । बैठकले यसअघि प्रजिअ संयोजकत्वको समितिले उठाउँदै आएको कर गाउँपालिकाले उठाउने निर्णय गरेको छ ।

तर बढ्दै गएको अतिक्रमण, बातावरणीय प्रदुषण नियन्त्रण र अन्य ब्यवस्थापनबारे स्पष्ट योजना गाउँपालिकाले पनि बनाउन सकेको छैन । स्थानीय तहका जनप्रतिनीधिहरुले गाउँपालिकाले नै अव त्यस क्षेत्रको ब्यवस्थापन गर्ने बताउँदै आएका छन् । यता दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले जिल्ला स्तरिय सरोकारवालाहरुबीच छलफल गरेर छिट्टै एउटा व्यवस्थापनको योजना बनाउनु पर्ने आवश्यकता औल्याए । ब्यवस्थापनबारे मैलेपनि केही योजना बनाएको छु, पाठकले भने, जिल्ला स्तरिय सरोकारवालाहरुबीच छलफल गरेर उपयुक्त निर्णयमा पुग्नुपर्छ ।

आकर्षक पर्यटकिय गन्तव्य उक्त क्षेत्र कालिञ्चोक गाउँपालिका क्षेत्र भित्र पर्दछ । राज्यको कार्यकारी अधिकार प्राप्त निकायले नै ठोस कदम नचाल्दा अबैध गतिविधिले प्रश्रय पाईरहेको छ ।

VIEWS: 504