उपराष्ट्रपति पुत्रको पहलमा साउदी जेलमा रहेका युवा स्वदेश फर्किए

Sunday, September 23rd, 2018 |

७ असोज, काठमाण्डौँ । उपराष्ट्रपति पुत्र दिपेश पुनको पहलमा रोल्पा नगरपालिका–१० का एक युवा साउदीको जेलबाट मुक्त भई स्वदेश फर्किएका छन् । रोल्पा नगरपालिका धबाङ पेवा गाउँका ३० वर्षीय दिलबहादुर घर्ति त्यहाँको अदालतले तोकेको व्लडमनी बुझाएपछि जेलमुक्त भएका हुन् । ब्लडमनीका लागि उपराष्टपति पुत्र पुनले आफ्नो संयोजकत्वमा समिति गठन गरी अभियान चलाएका थिए ।

दिलबहादुर यसै सेप्टेम्बर ५ तारिख भदौ २१ गतेनै जेलमुक्त भएपनि ३७ दिनपछि नेपाल आइपुगेका हुन् । श्रीमती मनिका, दुई छोराछोरी, आफन्तलगायत दिलबहादुर बचाउ अभियानमा जुटेका अभियन्ताहरुले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा, फूलमाला र खादा ओढाएर स्वागत गरे । जेल जीवनबाट छुटेर लामो समयपछि स्वदेश फर्किएर परिवारसँग भेट गर्न पाएका दिलबहादुरले आफुले नयाँ जीवन पाएको प्रतिक्रिया दिए ।

साउदी पुगेर काम सुरु गरेको केही महिनामै दिलबहादुरले चलाउँदै गरेको ट्रकले साउदी नागरिकको कारलाई ठक्कर दिँदा साउदी नागरिकको मृत्यु भएको थियो । त्यसपछि दुई वर्षअघि उनी साउदीको राजधानी रियादमा जेल परेका थिए ।

उक्त घट्नामा त्यहाँको अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाई ब्लड मनी स्वरुप साउदी रियाल २ लाख २५ हजार अर्थात ६७ लाख रुपैयाँ सम्बन्धित मृतकको परिवारलाई बुझाउनुपर्ने फैसला गरेको थियो । सो रकम तिर्न नसक्दा दिल बहादुर जेल जिवन बिताउन बाध्य थिए ।

उक्त समाचार सार्वजानिक भएपछि उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुन नेतृत्वको टोलीले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग रकम संकलन गरेको थियो ।

VIEWS: 428