नेकपाको जिल्लादेखि स्थानीय तहसम्म एकिकरणका लागि प्रदेशलाई विशेष निर्देशन
७ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला तहको एकिकरण गर्ने जिम्मा प्रदेश पार्टी कमिटिलाई दिईएको छ । जिल्ला तहको एकिकरणको टुंगो अव प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले लगाउने छन् ।
त्यसका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र जारी गरेका छन् । परिपत्रमा प्रदेश कमिटीले पूर्णता नपाउँदासम्मका लागि उनीहरुलाई नियमित बैठक राखेर जिल्ला तहको एकीकरण गर्न निर्देशन दिईएको छ ।
अध्यक्षद्धयले गरेको परिपत्रमा प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले पार्टीको विधान, नियमावली र निर्देशनको मार्गदर्शन एवं विगतको सिफारिशका आधारमा आफ्नो मातहतका जिल्ला कमिटी एकीकरण सम्पन्न गर्न भनिएको छ ।
एकिकरणका लागि सम्बन्धित तहका पूर्ण कमिटी र तिनका पदाधिकारी तथा सदस्यसँगको परामर्श र सुझाव समेत लिने बताईएको छ ।
परिपत्रमा गरिएका निर्देशन
जिल्ला मातहतका सबै तहमा एकीकरण गर्ने,
आफ्नो तह र मातहतका पार्टी कार्यलयहरुलाई एकीकृत गर्ने,
नियमित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने
आफ्नो तह र मातहतको पार्टी सम्पत्ति एकीकृत गर्ने,
आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणालीलाई व्यवस्थित गर्ने ।
पार्टी सदस्यता एकीकृत गर्ने ।
अभिलेख अद्यावधिक गर्ने र केन्द्रीय सचिवालयमा बुझाउने ।
प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्न तथा सञ्चालन गर्न ।
प्रदेश सरकार र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने ।
ती निकायसँग समन्वय गर्दै विकास–निर्माण र जनसरोकारका रचनात्मक कार्यमा समग्र पार्टी शक्तिलाई परिचालन गर्ने ।
कार्यसम्पादन गर्दा नीतिगत वा व्यावहारिकरुपमा कुनै कठिनाइ उत्पन्न भएकमा केन्द्रीय सचिवालयमा सम्पर्क गर्ने ।
परिपत्र अनुसार पार्टी केन्द्रबाट चाँडै प्रवेश कमिटीका सदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु चयन गर्दा थप मापदण्डसमेत पठाइने भएको छ ।
यो सँगै प्रदेश तह, जिल्ला तह र जनवर्गीय सङ्गठनको एकताका लागि गठन गरिएको कार्यदल भङ्ग भएको छ ।