प्रधानमन्त्री भन्छन् − समृद्धिका लागि सबैखाले एकाधिकारको अन्त्य हुन्छ,
४ असोज, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सबैखाले एकाधिकारको अन्त्य गर्ने बताएका छन् । निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने उनले बताए ।
नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक साधारणसभाको बिहीबार उद्घाटन गर्दै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सरकारले कुनै अवाञ्छित लाभ लिन वा कामका लागि सम्झौता नगर्ने बताए । समयमा गुणस्तरीय काम गरेर मुलुकको समृद्धिको अभियानमा सहयोग गर्न ओलीले आग्रह गरे ।
व्यावसायीले समयमा काम गर्न नसक्ने औचित्वपूर्ण अवस्था भएमा सम्झौता अवधि बढाउन सकिने प्रधानमन्त्री ओलीको भनाई छ । तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीलाई छुट दिन नसकिने उनले स्पष्ट पारे ।
नियतबस कम गुणस्तर वा कम मात्राको सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोज्नेलाई कारवाही गर्ने चेतावनी समेत प्रधानमन्त्तीले दिएका छन् ।