नेकपाको जिल्ला र प्रदेश कमिटी निर्माणको नयाँ मापदण्ड बन्दै

Wednesday, September 12th, 2018 |

२७ भदौ, काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को प्रदेश र जिल्ला कमिटी निर्माणका लागि नयाँ मापदण्ड लागु हुने भएको छ । उक्त नयाँ मापदण्डवारे महासचिव विष्णु पौडेलले आजको सचिवालय बैठकमा प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा महासचिव पौडेलले पेश गरेको प्रस्तावमा पार्टीको सांगठनिक एकीकरण सम्बन्धी केही थप मापदण्ड ल्याईएको छ ।
प्रस्तावमा वरिष्ठता र योग्यतालाई आधार बनाइने लगायतका मापदण्ड उल्लेख छन् । सचिवालय सदस्यहरुले अध्ययन गरेपछि भोलिको बैठकबाट अन्तिम रुप दिईने बताईएको छ । भोलीको बैठकले प्रदेश कमिटी समेत चयन गर्ने एक नेताले जानकारी दिए । उनका अनुसार प्रदेश अध्यक्ष र सचिव तथा इन्चार्ज र सहइन्चार्ज तोक्नुअघि तत्कालीन एमाले र माओवादीले लिने पदिय भागवण्डा टुंगो लगाईने छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा महासचिव पौडेलले पार्टी एकीकरणसम्बन्धि कार्य दलले तयार पारेको सुझावसहितको प्रतिवेदन पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई बुझाएका थिए ।

पार्टीको सांगठनिक एकीकरणको काममा सहमति जुटाउन भोली बिहिबार अपरान्ह ३ बजे पुनः सचिवालय बैठक बोलाइएको छ । सोही बैठकमा पार्टीको प्रदेश कमिटीसहितको सांगठनिक एकीकरणको बारेमा टुंगो लगाउने तयारी सचिवालयको छ ।

सचिवालयले टुंगो लगाएको पार्टीको सांगठनिक एकीकरणसम्बन्धि सहमतिलाई स्थायी समिति बैठकले अनुमोदन गर्ने निर्णय पनि बैठकमा गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

VIEWS: 309