आहा…किवि खेती होस् त यस्तो, किविले चीनमा गर्दैछ गरिबी न्युनीकरण
२४ भदौँ, सिचुवान –चीनमा फलफुलको राजा मानिने किविफलको व्यवसायिक र आधुनिक खेती व्यापक बन्दै गएको छ । नेपालमा खासै फस्टाउन नसकेको किवि खेती चीनमा भने गरिबी निवारण गर्ने एउटा आधार बनेको छ ।
विशेषगरी चीनले सिचुवान प्रान्तको मिनसान जिल्लामा व्यवसायिक किवि खेतीलाई तिब्रता दिएको छ । जिल्लाभरि ठूला ठूला किवि फार्म र प्रशोधन केन्द्र छन् भने फार्मसम्म पुग्ने पक्की बाटोको व्यवस्था गरिएको छ । यहाँ सन् २००० देखि किवि खेती गर्न थालिएको हो ।
विगतमा मकै लगाएत परम्परागत बाली लगाउँदै आएका यहाँका समुदाय हाल प्रायः सबै किवि खेती गर्दछन् । सन् २०१३ मा शक्तिशाली भूकम्प गएपछि यस क्षेत्रका जनता आर्थिक रुपमा कमजोर भई गरिबीको दर पनि बढ्यो । भूकम्पले गर्दा झन गरिब बन्न पुगेका जनताको आर्थिक अवस्था माथि उकास्नका लागि चीन सरकार र चीनको गरिवी निवारण कोषले व्यवसायिक किवि खेतीलाई अगाडि बढाउने योजना बनायो ।
व्यक्तिगत र सहकारी संस्थाको माध्यमबाट किवि खेती गर्ने, उत्पादन र प्रशोधन गरी ब्रान्ड बनाएर बजारमा पु¥याउने योजना अघि बढ्यो । चीन गरिबी निवारण कोषको सहयोग पछि बृहत रुपमा व्यवसायिक खेती अघि बढ्यो । किवि खेतीलाई मात्र अघि बढाइएन यसमा पर्यटन उद्योग पनि थपियो । अर्थात् कोषले कृषि पर्यटनको अवधारणालाई पनि अघि बढायो ।
चीनको गरिबी निवारण कोषले किविको बोटको प्रजनन् देखि फल बजारसम्म पु¥याउनेसम्म सबै काममा सहयोग गर्छ । किटनाशक विषादी हाल्न रोक लगाइएको छ भने गुणस्तर कायम गरेर बजारसम्म पु(याउने व्यवस्था गरिएको छ । यो जिल्लामा उत्पादन भएको किवि फल चीनभरि निर्यात हुन्छ । कूल क्षेत्रफलको २० प्रतिशत भूभागमा आर्थिक सहयोग गरेको छ ।
स्थानीय सहकारी समिति र व्यक्तिले गरेर यहाँ ३ सय ३३ हेक्टर जग्गामा किवि खेती गरिएको छ । किवि फल लगाएपछि प्रतिव्यक्ति आएमा २ हजार युयान बढेको स्थानीय अधिकारीहरु बताउँछन् । किवि फल बिक्रीबाट फाइदा र अर्को सहकारी समितिबाट पनि आम्दानी हुन्छ । किविको प्रजनन्, उत्पादन, र बजार बिस्तार सहकारी मार्फत हुने गरेको छ । यहाँका अधिकांश जनता सहकारी समितिका सदस्य छन् । सहकारीबाट प्रत्येक सदस्यले प्रतिबर्ष २३ हजार चिनिया युयान समेत पाउने गरेका छन् ।
यहाँका कृषकहरु किवि खेती मात्र गर्दैनन्, इन्टरनेटबाट बजारको समेत खोजी गर्छन । अधिकारीहरुका अनुसार अहिले सो जिल्लाका नागरिकहरु किवि खेतीबाट सम्पन्नताको बाटोमा अघि बढेका छन् ।