चारदिने भारत भ्रमण सफल : अध्यक्ष ‘प्रचण्ड’

Sunday, September 9th, 2018 |

२४ भदौ, काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकास र समृद्धि भारतका नेताहरुको पनि चाहना रहेको दाबी गरेका छन् । आफ्नो चार दिने भारत भ्रमण फलदायी भएको प्रतिक्रिया दिँदै पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले पुराना सम्झौता कार्यान्वयन र सम्बन्ध सुधारमा केन्द्रित भएको बताए ।

स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ले मन्त्रीमण्डल फेरबदलबारे प्रधानमन्त्रीको भनाई नै आधिकारिक भएको स्पष्ट पारे । भारत भ्रमण जाने क्रममा मन्त्री मण्डल हेरफेर हुनसक्ने संकेत दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल त्यस्तो सम्भावना नरहेको बताएका थिए ।

‘प्रधानमन्त्री ज्यूले जे भन्नु हुन्छ, त्यहीँ अधिकारिक हो,’ उनले भने, ‘गल्ती गर्नेलार्इ कारबाही हुन्छ भन्ने सन्दर्भमा कुरा आएको हो । अब मन्त्रीहरूले सक्रियतापूर्वक काम गर्न थाल्नुभयो भन्ने मैले बुझेँ।’ अध्यक्ष प्रचण्डले भ्रमणका बेला प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायतसँग भेट तथा छलफल गरेका थिए ।

चीन र भारत चार सय वर्षअघिको विश्व अर्थतन्त्रमा एसियाको ५१ प्रतिशत हिस्सालाई फर्काउने रणनीतिक कुरा चीनका राष्ट्रपतिसँग भएको मोदीले आफूसँग राखेको उनले बताए ।

त्यस्तै तराईमा डुबान, विराटनगरको अफिस हटाउने लगायतका विषय समाधान भइरहेको भन्दै अन्य समस्यालाई पनि तत्काल समाधान गर्दै जाने कुराकानी भएको प्रचण्डले जानकारी दिए ।

अध्यक्ष प्रचण्ड फर्कने क्रममा नेकपाका महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ, नेता नारायणकाजी श्रेष्ठ, वामदेव गौतमलगायत नेताहरु विमानस्थल पुगेका थिए ।

VIEWS: 336