यी विषय उठाएर दोलखाका सांसद प्रदेश सभामा गर्जिए 

Monday, September 3rd, 2018 |

१८ भदौ, हेटौडा । जननिर्वाचित सांसदहरुको प्रभावकारी भुमिकाबारे धेरै टिकाटिप्पणी र प्रश्न उठिरहेका बेला दोलखाका एक जना सांसदले प्रदेश सभामा सबैको ध्यान खिच्नेगरी जनसरोकारका विषय उठाएका छन् । प्रदेशसभा अन्तर्गत दोलखा १ नम्वर क्षेत्रबाट निर्वाचित सांसद विशाल खड्काले हाल सबैभन्दा धेरै चासो र चिन्ताको बिषय बनेको ३ नम्वर प्रदेश राजधानी र लामोसाँघु चरिकोट सडकको दुराबस्थाको विषय संसदमा गम्भिर ढंगले उठाएका हुन् ।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सदस्य समेत रहेका सत्तारुढ नेकपाका सांसद खड्काले संसदमा विशेष समय लिएर बोल्दै ब्यंग्यात्मक शैलीमा प्रतिवेदन अपहरणमा परेको भन्दै स्पष्ट जवाफको माग गरे । सम्भाव्यता प्रतिबेदन पेश भएको लामो समय बितिसक्दा पनि कुनै कारबाही अघि नबढाईएकोमा उनले प्रतिबेदन कहाँ अपहरणमा पर्‍यो भन्दै प्रश्न गरेका थिए ।

उनको उक्त प्रस्ताव प्रति जोडदार समर्थन गर्दै सत्ता पक्ष र विपक्षी दुवैतर्फका सांसदले टेबल ठोके । प्रदेश राजधानीबारेको अन्यौल हटाई छिटो टुंग्याउनुपर्ने उनको धारणा छ ।

यसैगरी सांसद राजकाजी महर्जन, लालकुमारी पुन, रजनी अमात्य जोन्छे लगाएतले पनि प्रदेश राजधानीबारे संसदमा छलफल नहुनु बिडम्वनापुर्ण भएको भन्दै तत्काल टुग्याउनुपर्ने तर्क गरे । प्रदेश राजधानीबारको सम्भाव्यता अध्ययन प्रतिबेदन जेठ २६ गते समितिले सभामुखलाई बुझाएको थियो ।

अध्ययन समिति बनाउने प्रदेश सभाको निर्णयको विरुद्ध परेको मुद्धा उच्च अदालत पाटनको हेटौंडा इजलासमा बिचाराधिन छ । उक्त मुद्धाका कारण समितिको प्रतिवेदन सभामा पेश हुन नसकेको प्रदेश सरकार स्रोतले जनाएको छ । तर प्रदेश सभाको कार्यविधीबारे अदालतले हस्तक्षेप गर्न नसक्ने सांसदहरुको भनाई छ । तर विचाराधिन विषयमा छलफल नगर्ने संविधानमा उल्लेख भएको कारण देखाउँदै यसबारे कार्वाही अघि बढाइएको छैन ।

लामोसाँघु−जिरी सडक
दोलखाका सांसद विशाल खड्काले लामोसाँघु जिरी सडकको दुराबस्थाको विषयमा पनि संसदको गम्भिर ध्यानाकर्षण गराएका छन् । ठेकेदारको लार्पावाहीका कारण लामोसाँघु–जिरी सडकमा एम्बुलेन्स समेत चल्न सक्ने अवस्था नभएका कारण बिरामीले अकालमै ज्याउन गुमाउनुपर्ने स्थिति रहेको भन्दै तत्काल ठोस कदम चाल्न उनले माग गरे ।

दोलखाली जनता बिरामीलाई काठमाण्डौँसम्म पुर्याउन हेलिकप्टर चार्टर गर्न बाध्य भएका छन्, उनले भने, यो अबस्थाको अन्त्य गर्न धेरै प्रयास गर्दा पनि सुनवाई हुन सकेको छैन, सरकार तत्काल गम्भिर ध्यान जाओस् । सडक सुधारका लागि सरोकारवाला पक्षसँग पटक पटक गरिएको छलफलमा प्रतिबद्धता जनाईएपनि कार्यान्वयन नगरिएको भन्दै खड्काले आपत्ती प्रकट गरे ।

सांसद खड्काले एक महिना अघि दोलखा सदरमुकाम चरिकोटमा उर्जा तथा सिंचाई मन्त्री बर्षमान पुन सहभागि एक कार्यक्रममा तत्काल सडक सुधारको आवश्यकता औल्याउँदै मन्त्रीलाई सोही सडक हुँदै काठमाण्डौँ जान आग्रह समेत गरेका थिए । त्यसपछि धेरै पटक सम्बन्धित पक्षको ध्यानाकर्षण गराएपनि कुनै प्रगति हुन नसक्नु दुखद भएको उनले बताए ।

दोलखाका संघ तथा प्रदेश सांसदहरुले एकसता अघि समुहिक रुपमा सडक ठेकदारलाई तत्काल सडक सुधार गर्न चेतावनी दिए । तर ठेकेदारले त्यसको बेवास्ता गर्दा सर्बसाधरण जोखिमपुर्ण र कष्टकर यात्रा गर्न बाध्य छन् । सो सडक मार्गमा एम्बुलेन्स संचालन गर्न नसक्ने अवस्थाका कारण बिरामी राजधानी लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ ।

सांसदले उठाएका अन्य विषय
सांसदहरुले सरकारले संसदलाई बिजनेस दिन नसकेको, कामकारबाही सुस्त भएको, बलात्कारीलाई कडा कारबाही हुन नसकेको मुलुकी देवानी र फौजदारी संहिताले संचार क्षेत्रलाई असर गरेको लगाएतका विषय पनि संसदमा गम्भिर रुपमा उठाएका छन् ।
विधेयक पारित
प्रदेश सभा ३ को सोमबारको बैठकले प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सहित प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विपत् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश नम्बर ३ को मन्त्रीपरिषद बैठकले ३ विधेयकको अवधारणापत्र स्विकृत गरेको छ । प्रदेश खेलकुदको विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, युवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रादेशिक शिक्षा परिषदको स्थापना गर्न बनेको विधेयकको अवधारणापत्र स्विकृत भएको हो

VIEWS: 2938