युएईका ब्यवसायीले संचालन गर्दैछन्, ८ जिल्लामा निशुल्क तालिम

Sunday, September 2nd, 2018 |

१७ भदौ, काठमाण्डौँ । युएईमा सफल व्यवसायीका रुपमा स्थापित ओम उप्रेतीले पुनः नेपालको ८ जिल्लामा निःशुल्क प्राथमिक उपचार तामिल सञ्चालन गर्ने भएका छन् । गत चैत १ देखि शुरु भएको यो अभियानको दोश्रो चरण अन्तर्गतको तालिम आमामी असोज १३ गतेबाट स्याङ्जा जिल्लाबाट शुरु हुनेछ । उप्रेती डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएई तथा डिस्कभरी रोयल स्पोर्ट्स प्राली नेपालका प्रबन्ध निर्देशक हुन् ।

डिस्कभरी रोयल स्पोर्ट्सको आयोजना र युएईका विभिन्न सामाजिक संस्थाको सहयोगमा निस् शुल्क आकस्मिक उपचार तालिम संचालन हुन लागेको हो । अभियान अन्तर्गत १४ गते पाल्पाको रामपुर, १५ गते गुल्मी, १६ गते बुटवल, असोज १९ मा सर्लाही, असोज २० मा इटहरी, २१ गते मोरङको बेलवारीमा संंचालन हुनेछ । अभियानको समापन कार्यक्रम असोज २२ गते झापामा हुने आयोजकले जनाएको छ ।

पहाडी तथा दुर्गम क्षेत्रका सर्बसाधरण नागरिकले सहज रुपमा स्वास्थ्य सेवा र जनचेतना पाउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थालाई मध्येनजर गर्दै स्वास्थ्य तालिमको अभियान संचालन गरिएको अभियान्ता उप्रेतीको भनाई छ । विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीसँगै नयाँ चेतना भित्र्याउने आफ्नो उदेश्य रहेको पनि उप्रेतीले बताए ।

आयोजकका अनुसार प्राथमिक उपचार तालिम एक स्थानमा एक दिन, ६ घण्टासम्म संचालन गरिनेछ । तालिममा एक जिल्लाबाट बढिमा एक सय जना प्रशिक्षार्थी सहभागि हुनेछन् भने एउटा तालिम केन्द्रमा ५० जनालाई सहभागि गराईनेछ । आयोजकका अनुसार तालिम निशुल्क उपलव्ध गराईने भएपनि चियानास्ता र स्टेशनरी बाहेक अन्य आवश्यकिय व्यवस्थापन आफैले मिलाउनुपर्नेछ । तालिममा १८ देखि ५० बर्षसम्मका सामाजिक सेवामा रुची राख्ने व्यक्तिहरु सहभागि हुनसक्ने जनाईएको छ ।

तालिममा नगरपालिका, गाउँपालिका, उच्च मावि र क्याम्पसबाट सहभागिहरु छनौट गरिनेछ । एउटा वडाबाट बढिमा ३ जना पुरुष र २ महिलालाई छनौट गरी पठाइदिने ब्याबस्थाको लागि गाउँपालिकाहरुसँग समन्वय गरिनेछ । समाजसेवी उप्रेती चितवन खैरेनी नगरपालिका वडा नम्बर १२ निवासि हुन् । ग्रामीण बस्ती, निम्न वर्गीय परिवारमा जन्मिएका उप्रेती ठुलो संघर्ष र मिहिनेतबाट आफुलाई सफल व्यवसायीका रुपमा स्थापित गरिसकेका छन् ।

उप्रेतीले सर्वसाधारणलाई आकस्मिक रूपमा कसरी बिरामीलाई प्राथमिक उपचार दिने र अकालमा ज्यान जानबाट कसरी जोगाउने भनी ज्ञान, सीप र प्रविधि सिकाउने उदेश्यले युएईमा यसै विधामा तालिम प्रदान गरिरहेका छन् । उनले यसअघि गत २०७४ चैत १ देखि ८ सम्म काठमाडौं, चितवन, तनहुँ, पोखरा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे र काठमाडौंमा प्राथमिक उपचार तालिम संचालन गरिसकेका छन् । अब संचालन गरिने तालिमबाट करिब एक हजार नेपालीले प्रत्यक्ष लाभ लिने आयोजक संस्थाले जनाएको छ ।

VIEWS: 999