कसले गर्दैछ, दोलखामा सालकको चोरी, शिकारी र तस्करी ?

Monday, August 27th, 2018 |

११ भदौ, दोलखा । दोलखा भिमेश्वर नगरपालिकाबाट दुर्लभ वन्यजन्तु सालकको खपटा चोरीशिकारी हुने क्रम रोकिएको छैन । सालकको खपटा सहित भिमेश्वर नगरपालिका ६ निवासि ५३ वर्षिय होम बहादुर थापा पक्राउ परेका छन् ।

थापालाई भिनपा ७ भुलभुलेबाट सालको खपटा सहित पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा उनलाई सोमवार बिहान पक्राउ गरी अनुसन्धान सुरु गरिएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक वासुदेव पाठकले जानकारी दिए । प्रहरीका अनुसार पुच्छर, नंग्रा, छाला सहित २७ ईञ्च लम्वाई र ९ ईञ्च चौडाई रहेको सालक खपटाको तौल ८० ग्राम छ ।

पक्राउ परेका थापा र वरामद खपटा थप कारवाहीका लागि जिल्ला वन कार्यालय बुझाईने प्रहरीले जनाएको छ । संरक्षित बन्यजन्तुको चोरी शिकारी गरेको प्रमाणित भए वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ५ वर्षदेखि १५ वर्षसम्म कैद र ५ लाख देखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

दोलखामा विगतमा पनि पटक पटक सालकको खपटा बरामद हुने गरेको छ । राम्रो मुल्यमा बिक्रि हुने भएका कारण गाउँ गाउँमा सालकको शिकारी र तस्करी गर्ने क्रम रोकिएको छैन ।

VIEWS: 880