जेहेन्दार थामी विद्यार्थीले पाए छात्रबृत्ती

Sunday, August 26th, 2018 |

१० भदौ, दोलखा । अतिसिमान्तकृत थामी समुदायका जेहेन्दार एक विद्यार्थीले पुर्ण छात्रबृत्तिमा काठमाण्डौँको राम्रो क्याम्पसमा पढ्ने अवसर पाएका छन् । हिम्स कलेज चरिकोटबाट व्यवस्थापन शंकायमा उत्कृष्ट नतिजा ल्याई प्लस टु उतिर्ण गरेका नवीन थामीले राजधानीको सुविधासम्पन्न क्याम्पसमा छात्रवृत्तिको अवसर पाएका हुन् ।

राजधानी काठमाण्डौँको कमलपोखरी स्थित हिमालयन म्यानेजमेन्ट कलेजमा छात्रबृत्ति पाएका नवीन भर्ना भैसकेका छन् । दोलखा नक्षटोली घर भई हाल अमेरिकामा रहनुहुने समाजसेवी तथा शिक्षाप्रेमी पद्मा प्रधानको पहलमा उनले छात्रबृत्ति प्राप्त गरेका हुन् ।

महंगो मानिने उक्त कलेजमा उनले अव कुनै शुल्क तिर्नुपर्दैन भने ट्युसन पनि निशुल्क पढ्न पाउनेछन् । केन्द्रिय राजधानीको राम्रो क्याम्पसमा छात्रबृत्ती पाएसँगै नवीनले आफुले ठुलो अबसर पाएको भन्दै थप मेहनतका साथ अध्ययन गर्ने प्रतिक्रिया दिएका छन् ।
उनका वुवा भदु थामीले पनि यो छात्रबृत्ती आफ्नो छोराका लागि राम्रो मौका भएको भन्दै क्याम्पस र पहल गर्ने व्यक्तित्वलाई धन्यवाद दिए ।

दोलखा सदरमुकाम चरिकोट स्थित हिम्स कलेजमा उनी प्लस टुमा झण्डै ७० प्रतिशत अर्थात बी प्लस ग्रेड प्राप्त गर्ने व्यवस्थापन शंकायको कलेज टपर हुन् । उनलाई क्याम्पसले व्यवस्थापन संकायतर्फको सर्वोकृष्ट विद्यार्थीको रुपमा सम्मान गरिसकेको छ ।

VIEWS: 1105