कञ्चनपुर घट्ना : एसपी सहितका प्रहरी अधिकारीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

Saturday, August 25th, 2018 |

९ भदौ, काठमाडौं । गृह मन्त्रालयले कञ्चनपुरमा प्रहरीको गोली लागि एक किशोरको मृत्यु भएपछि प्रहरी अधिकारीहरुलाई कारवाही प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले कारबाही स्वरुप एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ । यस्तै डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई पनि हेडक्वार्टर तानिने भएको छ ।

१३ वषर्ीय छात्रा निर्मला पन्तको बलात्कारपछि हत्याको विषयलाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरको जिम्मेवारीमा थिए । स्थानीयले विष्टकै छोरामाथि समेत शंका गरी छानविन गर्न माग गरेपनि बेवास्ता गरिएको थियो ।

यसैगरी गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको थियो । नयाँ नेतृत्व पुगेकै दिन एक बालकको प्रहरीको गोलीबाट मृत्यु भएको हो ।

शनिबार गृह मन्त्रालयमा भएको बैठकमा मन्त्री रामबहादुर थापा बादलले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका हुन् । डीएसपी सेटी र मुद्दा फाँटका खड्कालाई हेडक्वाटर बोलाएर घटनाबारे अनुसन्धान गर्ने गृहको तयारी छ ।

VIEWS: 242