दोलखामा भिषण वर्षा : बस्तीहरुमा यसरी बढ्दैछ, जोखिम (फोटोफिचर)
८ भदौ, दोलखा । केही दिनदेखिको भिषण वर्षाका कारण दोलखाको जनजिवन कष्टकर बनेको छ । निरन्तरको बर्षातले धेरै स्थानमा चलेको पहिरो, भल र खहरेले धेरै बस्तीहरु उच्च जोखिममा परेका छन् । पहिरोले विभिन्न सडकमा समेत क्षति पुर्याएर यातायात समेत घण्टौँसम्म समयसम्म अवरुद्ध हुँदा सर्वसाधरण अर्को मार खेप्न बाध्य छन् ।
बिहिवार रातीको भिषण बर्षातले कालिञ्चोक गाउँपालिका–९ का करिव २ सय घरपरिवार पहिरोको जोखिममा परेका छन् । त्यसमध्ये करिव एक सय घरपरिवार उच्च जोखिममा रहेको वडा अध्यक्ष राम मैनालीले जानकारी दिए । उनका अनुसार सुन्द्रावतीको मानेडाँडा, च्यानडाँडा, कोटेटोल, आहालचौर, छुकुटोल लगाएतका बस्तीमा पहिरोले जोखिम बढाएको छ ।
पहिरो र खहरेसँगै आएको ढुंगा र रुख पुलमा अड्किएर बारिएपछि बुर्मीखोला बस्ती पस्दा स्थानीय त्रसित छन् । त्यहाँका स्थानीयका अनुसार घरहरुमा क्षेति पुग्नुका साथै केही चौपाया समेत पुरेको छ । सडकको पुलको उचाई र लम्वाई कम बनाईएका कारण पनि खोला थुनिएर बस्ती छिर्ने अवस्था आएको स्थानीय भिम थामीले बताए । जोखिम न्युनिकरणका लागि स्थानीयले ३ दिनभित्र सम्वन्धित निकायले सम्वोधन नगरे दोलखा–सिंगटी सडक अवरोध गर्ने चेतावनी दिएका छन् ।
भिमेश्वर नगरपालिका १ मा पनि पहिरोका कारण बस्तीहरु जोखिममा परेको स्थानीय जनाएका छन् । भिषण वर्षापछि जिल्लाका अन्य भागमा पनि पहिरो जोखिम बढाएको समाचार प्राप्त हुन थालेका छन् ।