शान्ति र समृद्धिको सन्देश सहित यी युवकले गर्दैछन् देशभरको साईकल यात्रा

Wednesday, August 22nd, 2018 |

६ भदौ, सुनसरी । मुलुकमा शान्ति र समृद्धिको कामना गर्दै सुनसरीका एक युवक देशका सबै जिल्लाको साईकल यात्रामा निस्किएका छन् । सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका वडा नं ५ निवासि ओम प्रकास बानिया शान्ति, समृद्धि र स्थायित्वको सन्देश सहित ७७ वटै जिल्लाको साईकल यात्रामा निस्किएका हुन् ।

मुलुक लामो अवधि द्धन्द्ध, अशान्ति र अस्थिरताको चक्रव्युहमा फसेको भन्दै उनले अव शान्ति र समृद्धिको सन्देश दिनुपर्ने ठानेर आफुले यो यात्रा सुरु गरेको बताए । ६२ वटा जिल्लाहरुमा साइकल यात्रा गरिसकेका २७ वर्षिय बानिया साईकल यात्राको क्रममा हाल रुपन्देही पुगेका छन । उनले यात्राका क्रममा नेपालको झण्डा साइकलमा फहराउदै सबैसँग अव शान्ति र समृद्धिको सन्देश बाँड्ने गरेका छन् ।

साईकल यात्री बानियाँले धार्मिक तथा पर्यटकीय स्थलहरुको स्थलगत अवलोकन गरी त्यसको व्यापक प्रचार गर्नु पनि आफ्नो लक्ष्य रहेको बताए । ६ महिना भित्र नेपालको ७७ वटै जिल्लाहरुमा साइकल यात्रा गरि २०७५ साल असोज १७ गते काठमाण्डौँमा समापन गर्ने योजना बानिँयाको छ ।

मुलुकको परिस्थितिले बानियाको बाल्यकाल दुखमा बितेका कारण नयाँ पुस्ताले त्यस्तो अवस्था भोग्न नपरोस् भन्ने उनी चाहन्छन् । बेरोजगारीका कारण विदेशिएका बानियाँले करिव साढे तीन बर्ष कतारमा बिताए । कतार बाट फर्किए लगत्तै उनले साइकल यात्राको योजना बनाएका हुन् । साईकल यात्राको क्रममा विभिन्न चुनौतिहरु सामना गर्नुपरिरहेको उनको अनुभव छ ।

प्रतिक्षालय देखि पाँच तारे होटेल सम्म उनको बास हुने गरेको छ । ओखलढुंगा जिल्लामा केही लागू औषध तथा कुलत मा फसेका युवाहरुबाट अनावश्यक झन्झट ब्यहोर्नु परेको उनले सुनाए ।

VIEWS: 539