दोलखामा गुल्लाँ पर्व महोत्सवकै रुपमा मनाईदै
६ भदौ, दोलखा । ऐतिहाँसिक तथा पुरातात्विक शहर दोलखामा गुल्लाँ पर्व महोत्सव हुँदैछ । नेवार समुदायको साँस्कृतिक पर्वलाई यही भदौ ८ गतेदेखि १६ गतेसम्म महोत्सवकै रुपमा मनाउने तयारी छ ।
९ दिनसम्म चल्ने महोत्सवमा ठुलो लाखे जात्रा, सा–प्याखन गाईजात्रा, रोचक÷घोचक प्रहसन, ट्वाकल प्याखन (कृष्णलिला), भैरवकुमारी जात्रा लगाएत विशेष आकर्षण रहनेछन् । यसैगरी मनोरञ्जनात्मक तथा साँस्कृतिक प्रतियोगिताहरु, झाँकी, मारुनी नाच, तामाङ सेलो, नृत्य, विभिन्न विद्याका साहित्य सिर्जना वाचन लगाएतका कार्यक्रम पनि रहने महोत्सव आयोजक मुल समारोह समितिले जनाएको छ ।
दोलखाको धार्मिक पर्यटनको वृहत्तर विकास र प्रवद्र्धन गर्ने उदश्यले गुल्लाँ पर्व महोत्सवको आयोजना गरिएको आयोजक मुल समारोह समितिका संयोजक विराजमान श्रेष्ठले जानकारी दिए । महोत्सवले भुकम्पबाट क्षतिग्रस्त दोलखा बजारको पुनर्निर्माणमा सहयोग पुग्ने विस्वास पनि आयोजकले लिएको छ । महोत्सव आयोजक समितिका प्रविण प्रधानले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
श्रावण कृष्णपक्ष घण्टाकर्ण चतुर्दशी (गाठमा पुजा) को दिन देखि भाद्र कृष्णपक्ष षष्ठीको दिनसम्म यो जात्रा मनाईन्छ । यो अबधिमा घण्टाकर्ण, गुठी, देउ उई (बाजागाजा सहित दोलखाको सम्पूर्ण देव, मन्दिर, चैत्यहरुको परिक्रमा गरी पुजा आरधाना गर्ने प्रचलन छ ।
महोत्सवबाट लिच्छवीकालीन र मल्लकालीन प्राचिन नेपालबारे बुझ्न सकिने दोलखाका अग्रजहरु बताउँछन् । दोलखा बजारलाई नेवारी सभ्यताकै पुरानो (ऐतिहाँसिक) बजार मान्ने गरिन्छ ।
फोटो सौजन्य : प्रल्हाद आचार्य