करको हल्ला के हो ? सरकारले थाल्यो स्थलगत अध्ययन

Tuesday, August 21st, 2018 |

५ भदौ, काठमाण्डौँ । सरकारले गठन गरेको उच्चस्तरीय समितिले सोमबार स्थानीय तहमा लगाइएका करसम्बन्धमा अध्ययन सुरु गरेको छ।सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा राजस्व सचिव शिशिर ढुंगाना र वित्त आयोगका सचिव बैकुण्ठ अर्यालसहितको कर अध्ययन समिति गठन गरेको थियो। समितिको सोमबार बसेको पहिलो बैठकले धेरै कर तोकेका र विवादित स्थानीय तहमा स्थलगत अध्ययन गर्ने निर्णय गरेको छ।

बैठकमा स्थानीय तहले कार्यपालिकाको निर्णयविपरीत आफूखुसी कर बढाएको, आर्थिक ऐन पनि आफूखुसी संशोधन गरेको तथा जिल्ला समन्वय समितिले अधिकार क्षेत्र बाहिर गएर कर उठाइरहेको लगायत विषयमा गम्भीर छलफल भएको थियो। समितिले सबै स्थानीय तहका आर्थिक ऐन ७ दिनभित्र मगाउने निर्णयसमेत गरेको छ।

बैठकले धेरै विवाद उत्पन्न भएका तहको स्थलगत अध्ययन गरी यथार्थ वस्तुस्थिति पत्ता लगाउने निर्णय गरेको समितिका संयोजक सचिव थपलियाले जानकारी दिए। ‘सबै स्थानीय तहको आर्थिक ऐन मागेका छौं, त्यसबाट पनि करमा भएको बेथितिको अध्ययन गर्छौं’, उनले भने। समितिले स्थानीय तहमा पहिलेको र अहिले भइरहेको कर व्यवस्थापनको पनि तुलनात्मक अध्ययन थालेको छ।

बैठकले स्थलगत अध्ययन गर्न सहसचिवहरू पुरुषोत्तम नेपाल, गोपीकृष्ण खनाल तथा संघीय मामिला, अर्थ र वित्त आयोगका एक÷एक जना उपसचिव समाविष्ट सहजीकरण समितिसमेत गठन गरेको छ। समितिले तीनै तहका कर अनुगमन गर्न छुट्टै कानुन आवश्यक हुने नहुने अध्ययनसमेत गरी निष्कर्ष निकाल्नेछ। बैठकमा हालसम्म ८० स्थानीय तहले बजेट नै पारित नगरेको तर कर उठाइरहेको सम्बन्धमा पनि अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको छ।

जनप्रतिनिधि आफैंले डोजर किनेर सञ्चालन गरिरहेको विषयमा प्रधानमन्त्री केपी ओलीले चासो देखाएपछि बैठकमा त्यस सम्बन्धमा पनि छलफल भएको बताइएको छ। समितिले कर र अन्य विषयमा स्थानीय तह, प्रदेश र संघ (केन्द्र) मा देखिएका समस्यासम्बन्धमा पनि अध्ययन गर्नेछ। आजको अन्नपुर्णमा समाचार छ ।

VIEWS: 328