मन्त्रिपरिषद बैठक : यस्ता छन् पछिल्ला निर्णय

Monday, August 20th, 2018 |

४ भदौ, काठमाण्डौँ । नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई महारथी पदमा पदोन्नती गरी प्रधानसेनापतिमा नियुक्त गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिश गरेको छ । थापालाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अवकाश पाउनु एक महिना अघिदेखि विदामा बसेपछि रथी थापाले साउन २५ गते देखि कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रधानसेनापति क्षत्रीले तीन वर्षे सेवा अवधिका कारण भदौ २४ गते अवकाश पाउँदै छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार डिल्लीराज खनालको अध्यक्षतामा पाँच सदस्यीय सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गर्ने निर्णय पनि सरकारले गरेको छ । अध्यक्ष खनालको सेवा सुविधा राज्यमन्त्रीस्तरको हुनेछ । सरकारले मौलिक हकसँग सम्वन्धित थप तीन वटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

व्यक्तिगत गोपनियताको व्यवस्था गर्न बनेको विधेयक – २०७५, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक – २०७५ र भूमि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक ९सातौ संशोधन० – २०७५ लाई संघीय संसदमा पेश गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

बैठकले विश्व बैंक समूहको अन्तराष्ट्रिय संस्था (आइडीए) बाट स्वीकृत सार्वजनिक व्यवस्था सुधार आयोजनाका लागि प्राप्त एक अर्ब ६४ करोड ९१५ मिलियन डलर० अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी मन्त्रिपरिषद्को बैठकले पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट अतिरिक्त प्रमुख कार्यकारी अधिकृतमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चिरन्जीवी चटौत, पुनर्वास तथा व्यवस्थाको कार्यकारी निर्देशकमा सिँचाइ तथा जलस्रोत विभागका उपमहानिर्देशक चुर्णबहादुर ओली र प्राविधिक कार्यकारी निर्देशकमा विद्युत विकास विभागका नरेन्द्र भण्डारीलाई काजमा खटाउने निर्णय गरेको छ ।

प्राधिकारणको कार्यकारी पदमा कार्यरत सहसचिव बाबुराम अधिकारीलाई अर्को व्यवस्था नभएसम्म बढीमा २०७६ असार मसान्तसम्मका लागि काजमा खटाउने निर्णय समेत बैठकले गरेको छ ।

त्यसैगरी अस्थायी तथा सेवा करार बमोजिमका जनशक्ति व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमेस्टेक०को ग्रीड इन्टरकनेक्सन सम्बन्धी समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई दिने निर्णय गरेको छ । बिमस्टेकको चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौँमा हुँदैछ ।

VIEWS: 453