गाउँपालिका केन्द्रको बिवादमा ठुला नेताहरु तानिँदै, स्थानीय भन्छन् −नेताहरुले ठिक गरेनन्

Monday, April 23rd, 2018 |

१० बैशाख, दोलखा । कालिञ्चोक गाउँपालिका केन्द्रको विषयमा बढेको बिवाद समाधानमा जिल्ला स्तरिय नेताहरुको भुमिका जिम्मेवारपुर्ण नभएको भन्दै स्थानियले तिव्र असन्तुष्टि जनाउन थालेका छन् । जिल्लाको जिम्मेवार तहका नेताहरुनै बिवाद समाधानका लागि सहजीकरण गर्नुभन्दा थप चर्काउने र बल्झाउनेतिर उद्धत रहेको भन्दै स्थानीय सर्बसाधरणले आक्रोस ब्यक्त गर्न थालेका छन् ।

सतहमा केन्द्रको विवादमा जनप्रतिनीधिहरु देखिएपनि बिवादको जड पर्दा पछाडीका ठुला नेताहरु रहेको उनीहरुको आरोप छ । कालिञ्चोक गाउँपालिका–५ का बुद्धिजिवी बिवेक कुमार खड्काले सर्बसाधरण जनताको भावनामाथि नेताहरुले खेलवाड गर्न थालेको बताए । “स्थानीय समस्या समाधान गर्दै गाउँपालिकाको समृद्धिका लागि हामीले नेताहरु बनाएका हौँ, खड्काले भने, तर उहाँहरुको भुमिका केन्द्रको विषयमा बिवादमा खेल्ने जस्तो गैरजिम्मेवारपुर्ण बन्दै जानु शोभनिय होईन ।”

नेकपा एमाले केन्द्रिय उद्योग विभागका सदस्य बालकृष्ण शिवाकोटी, जिसस प्रमुख समेत रहेका एमाले जिल्ला उपसचिव डवल पाण्डे, माओवादी केन्द्रका जिल्ला सह ईन्चार्ज नर बहादुर पाख्रिन, जिल्ला संयोजक गोपाल पाण्डे, कुल बहादुर बुढाथोकी लगाएतका नेताहरु कालिञ्चोक गाउँपालिकाबासि हुन् ।

यी नेताहरुको भुमिकानै सकारात्मक र जिम्मेवारपुर्ण नहुँद गाउँपालिका केन्द्रको विषय जटिल बनेको स्थानीय बताउँछन् । कालिञ्चोक गाउँपालिका ६ का बखानसिंह थामीले संघियताको मर्म विपरित आफ्नो स्वार्थ अनुसार नेताहरुले गाउँपालिका केन्द्र राख्न खोजेको बताए ।
“भाषणमा नेताहरु सिंहदरवार गाउँमा पुग्यो भन्छन्, तर उनीहरुको व्यवहार हेर्दा राजाको भन्दा पुरानो देखिदैछ, उनले भने ।”
कालिञ्चोक गाउँपालिका १ का चन्द्रकुमार लामाले सबैभन्दा बुद्धिजिवी भएको ठाउँबाटै संघियताको मर्ममाथि प्रहार भैरहेको प्रतिक्रिया दिए ।

बिवाद कायमै

कालिञ्चोक गाउँपालिकाको केन्द्र हालकै स्थानमा कायम राख्ने या सार्ने भन्ने विषयको विवाद चर्किदै जाँदा जनप्रतिनीधिहरुबीच मुठभेडको स्थिति छ । केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष विनकुमार थामीमाथि गत महिना आक्रमण भएको थियो । कालिञ्चोक गाउँपालिकै निवासि जिसस प्रमुख डबल पाण्डेलाई गाउँपालिका जाँदा निरन्तर अबरोध गर्दै आएका छन् । योजनाहरुको अनुगमनका लागि आईतवार गाउँपालिका जान लागेका पाण्डेर्लाइ सुनखानीबाटै सदरमुकाम फर्काईयो । उनलाई त्यसअघि पनि सुनखानी स्थित एक विद्यालयमा ६ घण्टासम्म बन्धक बनाईएको थियो ।

VIEWS: 2541