प्रकृतिपुजकको ऐतिहाँसिक धार्मिक स्थललाई हिन्दुकरण गरियो–गुरुङ
९ चैत्र, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वार्ड नं ३ स्वारा स्थित ऐतिहासिक गुफा छ्यता दुलो प्रकृति पुजकहरूको पवित्र धार्मिक स्थल रहको भन्दै अगुवा तथा संस्कृतिकर्मीहरु त्यसको संरक्षणमा जुटेका छन् । तमु संस्कृतिकर्मी नरबहादुर गुरुङले गुफा छ्याता दुलो गुफामा प्राचिन कालदेखि त्यस भेगका आदिवासीका प्रकृतिपुजक धर्म गुरुहरूले आफ्नो तान्त्रिक बिद्या प्राप्तिको लागि ध्यानमा बस्ने पवित्र स्थल भएको बताए ।
तर नेपालमा एकात्कतावदी राज्यव्यवस्थाको कारण हिन्दु धर्मको प्रभाव सदियौं बर्षदेखि पर्दै जादा उक्त गुफा समेत हिन्दुकरणको चपेटामा परेकोले प्रकृति पुजकहरुको पहिचान हराउदै गएको गुरुङको भनाई छ । गुरुङका अनुसार स्थानीय तमु भाषामा छ्य को अर्थ ज्ञान अर्थात शिक्षा र ता को अर्थ चढाउने वा लिने हुने साथै होङ को अर्थ गुफा अर्थात् दुलो हुने हुदा अझैपनि स्थानीय पुराना ब्यक्तिहरूले त्यस गुफालाई छ्यता दुलो अर्थात् छ्यता होङ भन्ने चलन छ ।
“प्रकृती पुजक तान्त्रिक धर्म गुरुहरूले उक्त गुफामा बसी ध्यान गरेपछि तान्त्रिक ज्ञान प्राप्त गर्ने र अनुयायीहरुलाई त्यसकै आधारमा आशिक, झारफुक, काजकर्म आदि गरिन्छ, त्यसैले त्यस गुफालाई छ्यता दुलो अर्थात् गुफा भनिदै आएको हो उनले भने ।” तर हिन्दुमार्गीहरूले छ्यता गुफालाई अपभ्रंश गरी हिन्दु रामले आफ्नो पत्नि सितालाई रावणको हरण गर्नबाट बचाउन लुकाएको गुफाको रुपमा व्याख्या गरि किवदन्तीको रुपमा प्रचार गरिएको र गुफा छेउमा मन्दिर बनाई सीता र रामको मुर्ती राखेकोमा गुरुङ समुदायले आपत्ती जनाएको छ ।
त्यहि किवदन्तीको आधारमा छ्यता दुलोलाई हिन्दुकरण गरि सीता गुफाको नामले दुष्प्रचार गरिँदै आएको भन्दै संस्कृतिकर्मी गुरुङ लगाएतका अगुवाहरुले त्यो सच्याउन पहल समेत थालेका छन् । यसरी हिन्दुको मन्दिर बनाएर सीता गुफाको नामले प्रचार गर्नु भन्दा प्रकृति पुजकहरूको आस्थाको पवित्र भूमिको रुपमा छ्यता दुलोलाई बिकसित गरेर पर्यटकीय गन्तव्य स्थल बनाउन सके स्थानीयहरुको दैनिक जिवनस्तर उकस्न तथा स्थानीयहरूको आस्थाको केन्द्रको बिकासका लागि थप टेवा पुग्ने गुरुङको दावी छ ।
पहिचानको आन्दोलनमा विगत लामो समयदेखि निरन्तर क्रियाशिल गुरुङले ईतिहाँसको अपव्याख्यालाई सुधार गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराईएको जानकारी पनि दिए ।