आफ्नो कमाई कटाएर गरिब विद्यार्थीलाई ‘छात्रवृत्ति’
−लक्ष्मण थामी
४ चैत्र, काठमाण्डौँ ।
खाने मुखलाई जुँगाले छेक्दैन । मानिसले गर्न चाहे के हुँदैन र ? मात्र कर्म गर्ने मन हुनुपर्छ । हो, त्यस्तै कर्म गर्ने मन भएका मध्येका एक हुन् दोलखा भिमेश्वर नगरपालिका (साविक)–५ नक्षटोलकी ५५ बर्षिया पद्यमा प्रधान । हाल अमेरिका रहेकी प्रधान आफ्नो लागि मात्रै कमाउँदिनन्, नेपालका गरिब विद्यार्थीहरुका लागि पनि कमाउँछिन् ।
झण्डै आधा दशकदेखि आफ्नो कमाईको निश्चित रकम काटेर उनले नेपालको समाजसेवामा खर्च गर्दै आएकी छन् । उनले विशेषगरी गरिबीका कारण शिक्षा हाँसिल गर्न नपाएका जेहेन्दार, मिहिनेती बालवालिका (विद्यार्थी) हरुलाई छात्रवृत्ति सहयोग गर्ने गर्छिन् ।
झण्डै १४ बर्षअघि अमेरिका पुगेकी उनमा विस्तारै समाजमा गरिब, बेराहारा, असाहाय, दिनदुखिको सेवा गर्ने मन पलाउन थाल्यो । प्रधानको अथक संघर्ष र मिहिनेतले उनलाई एकजना सफल नागरिक त, बनायो नै । तर उनले आफ्नो परिचय त्यत्तिमै सिमित राख्न चाहिनन् । नेपालमा गरिबीमा पिल्सिएका –जो शिक्षाको उज्यालो घाम देख्न पाउँदैनन्) विद्यार्थीहरुलाई निरन्तर सहयोगको हात बढाउँदै जाँदा उनलाई समाजसेवीको रुपमा परिचित गराउँदै लगेको छ ।

सुरुदेखि नै उनको सपना समाजसेवा थियो । त्यसैले उनले आफ्नो कमाईको निश्चित रकम काटेर समाजसेवामा छुट्याउन थालिन् । आफ्नै पारिश्रमिकबाट गरिबदुखिहरुको सेवा गरेर सन्तुष्ट हुने भन्दै परोपकारी गतिविधिमा आफुलाई सक्रिय गराईन् । उनले मानव सेवा त्यसमा पनि शिक्षा क्षेत्रमा बढि लगानी गरेर धेरै प्रशंसा समेत बटुलिसकेकी छन् । “समाजसेवानै मानव जिवनको सबैभन्दा ठुलो सन्तुष्टि हो भन्ने लाग्छ, प्रधान भन्छिन्, त्यसैले अति गरिब विद्यार्थीहरुलाई शिक्षामा सहयोग गर्न पाउँदा धेरै खुसि छु ।”
प्रधानको छात्रवृत्ति सहयोगमा चितवन रत्ननगर नगरपालिका स्थित अर्विट माध्यामिक बोर्डिङ्ग स्कुल र अन्नपुर्ण शिशु निकेतनमा हाल एक दर्जन बढि अति विपन्न अवस्थाका विद्यार्थीहरु अध्ययन गर्न पाएका छन् । उनीहरुको यातायात देखि सम्पुर्ण शैक्षिक शुल्क उनी व्यहोर्छिन् । कक्षा २ देखि ९ कक्षासम्म अध्यननरत अन्नपुर्ण र अरविटका एक दर्जन बिद्यार्थीको बार्षिक खर्च लाखौ हुन्छ । शिशु निकेतन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारीले आफ्नो कमाई नै कटाएर प्रधानले गरिब विद्यार्थीहरुको जिवनमा सबैभन्दा ठुलो गुन लगाएको प्रतिक्रिया दिए ।
यस्तै अरविट आवासिय माध्यामिक विद्यालयमा पनि हाल ६ जना विद्यार्थीहरु प्रधानको सहयोगमा तेस्रो बर्ष अध्ययन गरिरहेका छन् । उनीहरु कक्षा दुई देखि ७ सम्म अध्ययन गर्ने विद्यार्थी हुन् । विद्यालयका प्रिन्सिपल भिम कँडेलले समाजसेवी प्रधानको सहयोगले गरिबीका कारण पढ्न नसकेर सडकमा पुगेका विद्यार्थीहरुले नयाँ जिवन र भविष्य पाएको बताए ।
अमेरिका र अष्टे«लिया जाने बिद्यार्थीलाई पनि पद्माको सहयोग छ । चितवनमा १२ जना विद्यार्थीलाई छात्रबृत्तिको अलवा उनले अन्य जिल्ला स्थित धेरै विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री, स्टेशनरी, खेलकुद सामाग्री लगाएत सहयोग गरेकी छन् ।
२०७० सालदेखि उनले लगातार गरिव बालवालिकाहरुको पढाईमा आफ्नो कमाई खर्च गरिरहेकी छन् । गरिब तर जेहेन्दार र प्रतिभाशाली बालबालिकाका लागि उच्च तथा गुणस्तरिय शिक्षा र विकासमा प्रधानको सहयोग रहँदै आएको छ । “बास्तविक रुपमा गरिब र बेसाहारा विद्यार्थीलाई मेरो सहयोग रहन्छ, अहिलेको विकसित समाजमा पनि गरिबीकै कारण शिक्षा जस्तो आधारभुत आवश्यकताबाट कोही बञ्चित हुन नपरोस् भनेर मैले सहयोगको हात बढाएको हो, प्रधानले भनिन् ।”
विक्रम् सम्वत् २०२० मा बुवा प्रताप नारायण र आमा प्रेममायाँ प्रधानको कोखबाट जन्मिएकी पद्मा प्रधानले नेपालमा रहँदा ल अध्ययन गरेकी हुन् । काठमाण्डौँमा उच्च शिक्षा अध्ययनसँगै विबाह गरेपछि उनको अमेरिका यात्रा सुरु भयो । र, त्यहीँ आफ्नो लागि मात्र नभएर गरिव, बेसाहारा विद्यार्थीहरुका लागि पनि कमाउन थालिन् । बाल्यकालदेखि नै गित संगित र नृत्यप्रति रुची भएका कारण यस क्षेत्रमा पनि उनको सहयोग छ ।
भनिन्छ, धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन । तर, उनीसँग धन र मन दुवै छ । त्यसैले त परोपकारी गतिविधिका क्रममा उनले गरिव प्रतिभाशाली बालबालिकाका लागि विशेष सहयोग गर्दै आएकी छन् ।