विगु वडा अध्यक्ष शेर्पाको दुवै मृगौला फेल, उपचार खर्च जुटाईदै

Friday, March 16th, 2018 |

२ चैत्र, काठमाण्डौँ । दोलखा विगु गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष निमाछिरी शेर्पा दुईवटै मृगौला फेल भएर गम्भिर विरामी परेका छन् ।
दुवै मृगौलाले काम नगरेर गम्भिर विरामी परेपछि शेर्पालाई राजधानी काठमाण्डौँ महाराजगञ्ज स्थित शिक्षण अस्पताल भर्ना गरिएको छ । विगतदेखिनै मृगौला रोगी शेर्पा औषधी सेवन गर्दै आएका थिए । तर औषधीले समेत काम गर्न छाडेपछि मृगौला प्रत्यारोपण गर्न उनलाई अस्पताल भर्ना गरिएको उनका आफन्तजनले बताएका छन् ।

मृगौला प्रत्यारोपणका लागि ठुलो रकम लाग्ने भएपछि शेर्पा परिवार गम्भिर चिन्तामा छ । उपचार खर्च जुटाउन अहिले समाजसेवी नार्साङ शेर्पाको संयोजकत्वमा निमाछिरी शेर्पा बचाउ अभियान चलाईएको छ । संयोजक नोर्साङ र विरामीका छोरा पासाङ नुर्बु शेर्पाको संयुक्त नाममा बैंक खाता खोली सहयोग संकलन कार्य भैरहेको छ । निमाछिरीका छोरा पासाङ नुर्बुले वुवाको जिवन बचाउका लागि सहयोग गरिदिन सबैसँग अपिल गरेका छन् ।

संयोजक शेर्पाले पनि हालसम्म करिव ५ लाख रकम जुटेपनि त्यो पर्याप्त नभएकाले थप सहयोगको आवश्यकता रहेको जानकारी दिए । उनले विहिवार मात्र विभिन्न व्यक्ति र संस्थाबाट संकलिन ८५ हजार रुपैयाँ सहयोग रकम विरामीको आफन्तलाई हस्तान्तरण गरेका छन् ।
शेर्पा गत स्थानीय तहको निर्वाचनबाट विगु गाउँपालिका ७ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

VIEWS: 820