हाम्रो रेडियोले मनायो ११ औँ बार्षिक उत्सव, पाँच जना पुरस्कृत
२ चैत्र, दोलखा । दोलखा सदरमुकाम चरिकोटबाट प्रसारण हुँदै आएको हाम्रो रेडियोले शुक्रवार आफ्नो ११ औँ बार्षिक उत्सव मनाएको छ ।
वार्षिक उत्सवको अवसरमा रेडियोको सभाहलमा आयोजित विशेष समारोहको नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष आचार्यले पुर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि संवैधानिक व्यवस्थाको व्यवहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
“पुर्ण प्रेस स्वतन्त्रता कुण्ठित पार्ने प्रयास अझै पनि जारी छ, उनले भने संविधानको खिलापमा हुने त्यस्ता हर्कत निस्तेज पार्न निरन्तर खवरदारी जरुरी छ ।” कार्यक्रममा ३ नम्वर प्रदेशसभा सदस्यहरु आङदेण्डी शेर्पा र सरस्वती बस्नेतले संघिय राज्य संरचनामा आमसंचार मैत्री निति निर्माण र कार्यान्वयनमा आफुहरुको पुर्ण सहयोग हुने बताए ।
पाँच जनालाई पुरस्कार
बार्षिक उत्सवको अवसरमा आमसंचारमाध्यमको क्षेत्रमा योगदान पुर्याउने पाँच जनालाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । जसमा सहिद धर्म बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष एवं प्रेस काउन्सिल संचालक समितिका सदस्य खिला बहादुर भण्डारी र सहिद भेष कुमारी खड्का स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धर सम्मानित भएका छन् ।
यसैगरी ललितादेबी रेडियो स्मृति पत्रकारिता पुरस्कारबाट सोही रेडियोमा कार्यरत दुर्गा बस्नेत र सिर्जना गोले तथा चरिकोट स्थित आमा किवी फार्मका संचालक श्याम बहादुर खड्का पुरस्कृत भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि आचार्य लगाएतका अतिथिहरुले नदग तथा सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका विशिष्ट पदाधिकारी, प्रेस सम्बद्ध पेशागत संघ संगठनका प्रतिनिधि लगाएतका सरोकारावालाहरुले रेडियोले खेलेको भुमिकाको प्रसंशा गर्दै आगामी दिनमा थप स्वतन्त्र र प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने बताए ।