३ नम्वर प्रदेशको मन्त्रिपरिषद विस्तारको तयारी
दोलखा, रामेछाप र सिन्धुपाल्चोकबाट को को बन्दैछन् मन्त्री ?
१५ फागुन, काठमाडौं । प्रदेश ३ का मन्त्रिपरिषदलाई पुर्णता दिने अन्तिम गृहकार्य भैरहहेको छ । प्रमुख सत्तारुढ घटक नेकपा एमाले र माओवादी केन्द्रबाट मन्त्रीहरुको नामावली प्राप्त भएपछि मुख्यमन्त्री डोरमणि पौडेलले बुधबारनै मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् । सबैभन्दा पहिले मन्त्रिपरिषद गठन भएको ३ नम्वर प्रदेशमा पुर्णता दिन भने ढिलाई भएको छ ।
हाल मुख्यमन्त्री पौडेल सहित आन्तरिक मामिलामा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेका केशव स्थापित मात्रै जिम्मेवारी सम्हालेका छन् । प्रदेश सरकारमा २२ जनासम्मको मन्त्रिपरिषद विस्तार गर्ने व्यवस्था भएपनि वाम गठबन्धनले बढिमा ११ सदस्यीय बनाउने तयारी गरेका छन् । त्यसमा अब एमालेले तीनओटा र माओवादीले एक मन्त्रालय पाउने सम्भावना छ ।
स्रोतका अनुसार बुधवार विस्तार हुने मन्त्रिपरिषदमा एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामालाई सपथग्रहण गराउने तयारी छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रामेछापका कैलाश ढुंगेललाई अर्थ तथा योजना मन्त्री बनाउन निर्देशन दिएको मुख्यमन्त्री पौडेल निकट स्रोतले जनाएको छ ।
प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले भने मन्त्री र अन्य नियुक्तिका नाम प्रदेश कमिटीबाट अनुमोदन हुनुपर्ने अडानमा छिन् । शाक्य पोलिटव्यूरो सदस्यद्वय पशुपति चौलागाई र अरुण नेपाललाई मन्त्री बनाउने पक्षमा रहेको बताईएको छ । एमालेको भागमा अर्थ तथा योजना,सामाजिक मामिला र कृषि,सहकारी तथा भूमिसुधार मन्त्रालय छन् ।
यता माओवादीको तर्फबाट युवा नेता तथा दोलखा २ नम्वर क्षेत्रका प्रदेशसभा सदस्य विशाल खड्का मन्त्री बन्ने सम्भावना प्रवल छ । यस्तै कुमारी मोक्तान, राजकाजी महर्जनले पनि मन्त्रीका लागि पार्टी नेतृत्वसँग लविंग तिव्र पारेका छन् ।