दोलखामा वनलाई अव बालीको रुपमा ब्यवस्थापन गरिँदै
१५ फागुन, दोलखा । कृषि वाली हामीले सँधै सुन्दै र भोग्दै आएका छौँ । तर वनलाई वालीको रुपमा विकास गर्ने भन्ने विषय भने धेरैका लागि नौलो हुनसक्छ । नेपालमा केही वर्षअघि देखि परिक्षणको रुपमा रहेको वैज्ञानिक वन व्यवस्थापन अव हिमााली जिल्लामा पहिलो पटक दोलखामा लागु हुँदैछ । जुन अवधारणा आधुनिक कृषि खेती जस्तै वनलाई पनि वालीको रुपमा विकास र वैज्ञानिक व्यवस्थापन गर्ने मान्यतामा आधारित छ ।
प्रारम्भिक चरणमा जिल्ला वन कार्यालय दोलखाले दिगो वैज्ञानिक व्यवस्थापनका लागि केही वनहरुलाई छनौट गरिसकेको छ भने अन्य वनहरु छनौट प्रक्रियामा छन् । जिल्ला वन अधिकृत गोविन्द दाहालले हैसियत विग्रिएका वनको गुणात्मक सुधारका लागि जिल्लाव्यापी रुपमा यो अभियान सुरु गर्ने तयारी भैरहेको जानकारी दिए । “हाम्रा वनका अधिकांस रुखहरु अव काठकै रुपमा पनि उपयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्, त्यसको जैविक र पर्यावरणिय महत्व त झनै घट्दो छ, दाहालले भने, वनलाई यथास्थितिमा राख्ने हो भने वनको खास अर्थ नहुने भएकाले दिगो बैज्ञानिक व्यवस्थापन गर्न लागिको हो ।”

जिल्लामा भिमेश्वर नगरपालिका स्थित खोरथली सामुदायिक वनबाट हिमाली जिल्लामै पहिलोपटक दिगो वैज्ञानिक वन व्यवस्थापनको अभियान सुरु गर्ने तयारी छ । खोरथली सामुदायिक वनका अध्यक्ष नारायण थापाका अनुसार उक्त वनको १ सय ७८ हेक्टर क्षेत्रफल मध्ये १ सय ४० हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन गर्न लागिएको हो । ३.५ हेक्टर क्षेत्रफलको एक क्लष्टरका दरले ४० वर्षमा उक्त वन व्यवस्थापन गर्ने कार्ययोजना वनेको छ ।
कार्ययोजनामा बार्षिक १४ सयसम्म रुख काट्ने र उक्त स्थानमा सल्ला जातको नयाँ विरुवा रोपण गरिनेछ । संरक्षणमा मात्रै केन्द्रित हुँदा पचासौँ वर्ष पुराना रुखहरु धोद्रा हुने, कुहिएर खेर जाने, ती रुखहरु नयाँ विरुवा उत्पादनमा वाधक हुने, अक्सिजन दिन नसक्ने, भुक्षय पनि रोक्न नसक्ने आदी कारण नयाँ ब्यवस्थापन सहित उपयोगमा जोड दिनु परेको वन अधिकारीहरुको दावी छ । उनीहरुका अनुसार वैज्ञानिक वन व्यवस्थापनले काठको परनिर्भरता हटाई निर्यात प्रवद्र्धन गर्ने, मुलुकको ग्राहास्थ उत्पादनमा टेवा पु¥याउने, रोजगारीको अवसर सिर्जना गर्ने लगाएत क्षेत्रमा ठुलो योगदान दिनसक्छ ।

वैज्ञानिक वन व्यवस्थापनबारे अध्ययन–अवलोकन गरेका जिल्ला समन्वय समिति दोलखाका सदस्य मुरारी शिवाकोटीले रुखलाई सयाँै वर्षसम्म पुजामात्रै गर्ने तर उपयोग नगर्ने परम्परागत नितिले वनबाट केही लाभ लिन नसकिने बताए । “वनलाई अव सम्मृद्धिको आधारका रुपमा व्यवस्थापन र उपयोग गर्न जरुरी छ, उनले भने ।” सामुदायिक वन उपभोक्ता महासंघ दोलखाका सचिव ध्रुव आचार्यले वैज्ञानिक वन व्यवस्थापन अहिलेको टड्कारो आवश्यकता भन्दै महासंघले सम्पुर्ण रुपले सहयोग गर्ने जनाए ।
वैज्ञानिक वन व्यवस्थापनमा ठुलो परिमाणमा काठ कटान र विक्रिवितरण गर्नुपर्ने भएका कारण सुशासन र पारदर्शीतामा भने गम्भिर हुनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । पुराना रुखको व्यापक कटान हुने तर संरक्षणको अभावमा नयाँ विरुवा हुर्कन नसक्ने अवस्था आए वनको हैसियत झन बिग्रने उनीहरुको चिन्ता छ ।
के हो वैज्ञानिक वन व्यवस्थापन ?
सामान्यतः वन क्षेत्रलाई विभिन्न क्लष्टरमा विभाजन गरी पुराना रुखहरुलाई विस्थापित गरेर नयाँ सदुपयोग योग्य रुख र विरुवा उत्पादन गर्ने प्रक्रियालाई वैज्ञानिक वन व्यवस्थापन भनिन्छ । त्यसमा विरुवा रोप्ने, हुर्काउने र काट्ने तीन चरणको सन्तुलन मिलाएर वनको व्यवस्थापन गरिन्छ ।
निश्चित अवधिमा पहिलो खण्डमा रुख कटान गरी विरुवा रोपण गर्दा अन्तिम खण्डमा कटानका लागि रुख तयार भैसकेको हुनेछ । रुख कटानका लागि अतिरिक्त असर न्युनिकरणका लागि आधुनिक मेसिनरी औजारको प्रयोग गरिन्छ भने रुख विरुवाको वैज्ञानिक अभिलेख राखिनेछ । दुरुपयोग हुन नदिन प्रत्येक रुखमा ट्यागिङ गरिनुका साथै तिनको नाप, आकार, जिपिएस लोकेसन आदी रेकर्ड राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ ।
नेपालको तराईका कपिलबस्तु, नवलपरासि, चितवन, रुपन्देही लगाएतका धेरै वनहरुमा बैज्ञानिक वन व्यवस्थापन सुरु भैसकेको छ ।