तीन नम्बर प्रदेशको राजधानी सर्दैन–मुख्यमन्त्री पौडेल

Monday, February 19th, 2018 |

७ फागुन, हेटौंडा — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट नसर्ने बताएका छन् । अस्थायी राजधानी हेटौँडाका विषयमा बिवाद भैरहेका बेला पौडेलले गृह जिल्ला मकनापुरवासीलाई राजधानी नसर्ने भन्दै ‘ढुक्क हुन’ आग्रह गरेका हुन्।

हेटौंडा उपमहानरपालिकाको दोस्रो नगरसभालाई सम्बोधन गर्दै उनले राजधानीबारे धेरै टिकाटिप्पणी जरुरी नभएको र अस्थायी राजधानी नै स्थायी हुने तर्क गरे । राजधानी सर्दैन भन्ने कुरामा म विश्वस्त तुल्याउन चाहन्छु, उनले भने ।

उनले भौतिक पूर्वाधार, संरचनामा धेरै खर्च भइसकेको भन्दै सबै हिसाबले हेटौंडा उपयुक्त भएको बताए। शनिबार धुलिखेल नगरपालिको कार्यक्रममा सहभागी भएका उनले काभ्रेमा राजधानी राख्नुपर्छ भन्ने माग पनि आएकोले विधी र प्रकृयाबाट सबै कुरा टुंगिने कुरा राखेको बताए।

प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा बहस चलिरहेका बेला मुख्य मन्त्रीले नै सार्वजानिक रुपमा राजधानी नसर्ने बताएका हुन् । प्रदेश राजधानी हेटौँडा उपयुक्त नभएको भन्दै धेरै प्रदेश सांसदहरु सार्नुपर्ने पक्षमा छन् ।

VIEWS: 587