प्रचण्डलाई एकिकृत पार्टीको अध्यक्ष बनाउनुपर्छ–खनाल
प्रचण्ड ओलीसँग निर्णायक छलफल गर्दै
२५ माघ, काठमाण्डौ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकिकृत पार्टीको अध्यक्ष बनाउन सकिने बताएका छन् । राजधानी स्थित विभिन्न संचारमाध्यमसँग आवद्ध पत्रकारहरुसँग कुराकानी गर्दै खनालले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफूलाई कुनै आपत्ति नरहेको सार्वजानिक अभिव्यक्ति दिएका हुन् ।
वाम एकतालाई कुनै पनि हालतमा भड्किन दिन नहुने भन्दै प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्नुपर्ने स्थिति आए पनि त्यसमा तयार हुनुपर्ने नेता खनालको भनाइ छ । विगतमा आफूले माओवादीसँग एकता र सहकार्य गर्नुपर्छ भन्दा आफूलाई ‘आधा माओवादी’ भन्नेहरु नै अहिले आफ्नो लाइनमा आइपुगेको खनालले बताएका छन् । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद आफैंमा राख्न चाहेको गुनासो माओवादी पंक्तिबाट आइरहेका बेला एमालेका पूर्वअध्यक्षसमेत रहेका झलनाथले प्रचण्डलाई अध्यक्ष मान्न सकिने अभिव्यक्ति दिएका हुन् ।
खनालले भनेका छन्( ‘केपी ओली नै प्रधानमन्त्री हुनुपर्छ, तर यो मेरो व्यक्तिगत विचार हो, पार्टीमा निर्णय भएको छैन । र, व्यक्तिगतरुपमा यसो भन्न मिल्थ्यो कि मिल्दैनथ्यो, प्रचण्ड अध्यक्ष बन्दा मलाई त आपत्ति छैन । जब पार्टी एककृत भएर जान्छ भने यसमा आपत्ति मान्नुपर्ने स्थिति छैन ।’
‘त्यतिबेला आधा माओवादी भन्नेहरु अहिले त्यही ठाउँमा आइपुगेका छन्’ खनालले भने, ‘०६२र०६३ पछि माओवादी पनि सच्चिदै आएको छ त्यसैले एमाले माओवादीवीच एकता हुनैपर्छ । मलाई नै जस दिनुपर्छ भन्ने ठान्दिनँ तर दुई पार्टीवीच एकता हुनैपर्छ, ढीलो नै होस् तर जति फन्का घुमे पनि हामीले पुग्ने ठाउँ धुम्बाराही नै हो ।’
ओलीसँग निर्णायक छलफलको तयारीमा प्रचण्ड
यता माओवादी अध्यक्ष प्रचण्डले अब पार्टी एकताबारे एमाले अध्यक्ष केपी ओलीसँग वार कि पार छलफल गर्ने तयारी गरेका छन् । केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै आफैंले राख्ने र जबजमा पनि तलमाथि नगर्ने विषय बाहिर आईरहेका बेला प्रचण्डले निर्णायक वार्ता गरिने आफू निकटस्थहरुसँग बताएका हुन् ।