केन्द्र तोक्ने विषयले कालिञ्चोक गाउँपालिका बैठकमा हंगामा
झण्डै हात हालाहाल
२५ माघ, दोलखा । दोलखा कालिञ्चोक गाउँपालिको केन्द्र तोक्ने विषयलाई लिएर सुरु भएको बिवाद चुलिएको छ । हालको अस्थायी केन्द्रलाई कायम राख्ने या सार्ने भन्ने विषयको विवादले स्थानीय तहका प्रनितिधिहरुबीच विबाद बढेको हो । गाउँपालिकाको केन्द्रबारे निर्णय गर्न हालै बोलाईएको बैठकमा प्रतिनिधिहरुबीच झण्डै हात हालाहाल समेत भएको बैठक स्रोतले बतायो ।
बैठकमा गाउँपालिका अध्यक्ष विन कुमार थामीले वडा नम्बर ५ लापिलाङ्गको भिमसेनस्थान र वडा नम्बर ७ सुनखानी स्थित आहाले दुई स्थानलाई प्रक्रियाबाट टुङ्ग्याउन प्रस्ताव गरेका थिए । तर ३ नम्बर वडा अध्यक्ष निशान बुढाथोकीले गाउँपालिका केन्द्र सार्ने भए खुरुले सारौँ नभए हालकै आहाले ठिक छ, नभए राम्रो हुँदैन भन्दै दबाव दिए। बुढाथोकीले वडा नम्वर ४ स्थित लामिडाँडाको खुरुलेमा गाउँपालिकाको केन्द्र हुनुपर्ने भन्दै लविङ गर्दै आएका छन् ।
बैठक स्रोतका अनुसार त्यसपछि गाउँपालिका अध्यक्ष विन कुमार थामी, तिमिले हामीलाई खेलाउने ? तिमी को हो ? भन्दै आक्रोसित मुद्रामा प्रस्तुत भए । दुबैजना उत्तेजित हुँदै आ–आफ्नो ठाउँबाट उठेपछि बैठक स्थल तनावग्रस्त भएको थियो । त्यसपछि गाउँपालिका अध्यक्षले कर्मचारीलाई माईन्युट गर्न आग्रह गरेपनि केही वडा अध्यक्षहरुको दवावका कारण त्यसो हुन सकेन ।
निर्णय कसरी लेख्छौँ हेरौ त, भन्दै बडा नम्वर ७ का अध्यक्ष चेत बहादुर खड्काले पनि चेतावनी दिएको बताईएको छ । दुई पक्षबीच उत्पन्न तनावलाई साम्य पार्न बैठकमा सहभागि अन्य प्रतिनिधिहरुले सम्झाउनुपरेको थियो ।
गाउँपालिका अध्यक्षलाई दबाव
गाउँपालिका अध्यक्ष विन कुमार थामी लगाएतका वडा अध्यक्षहरु वडा नम्बर ५ स्थित भिमसेनस्थानमा गाउँपालिका केन्द्र सार्नुपर्ने पक्षमा छन् । १ देखि ९ नम्वर वडा सम्मका सर्वसाधरणलाई उक्त स्थान सेन्टर पर्ने उनीहरुको भनाई छ । तर हाईवे सडक, यातायातको सुविधा आदी कारण देखाउँदै एउटा पक्ष केन्द्र सार्न नहुने अडानमा छ ।
केन्द्र हालकै स्थानमा रहनुपर्ने पक्षमा रहेका एमाले, कांग्रेस र माओवादीका नेतादेखि कार्यकर्ताहरुले गाउँपालिका अध्यक्षलाई दबाव बढाएको बताईएको छ । उनीहरुले हालको स्थानबाट केन्द्र सारिए ठिक नहुनेसम्मको चेतावनी दिन थालेको गाउँपालिका अध्यक्ष निकटस्थहरुको भनाई छ । दुई पक्षबीचको बिवादका कारण स्थानीय तहको निर्वाचन सम्पन्न भएको ९ महिना वित्न लाग्दा समेत केन्द्रबारे निर्णय हुन सकेको छैन ।