यसरी सुरु हुँदैछ, बहुप्रतिक्षित ३ नम्वर प्रदेशको अधिवेशन
प्रदेश सरकार गठनको बाटो खुल्दै
१८ माघ, काठमाण्डौँ । बहुप्रतीक्षित प्रदेशसभा बैठक प्रदेश नम्बर ३ मा बिहीबार सुरु हुँदै छ । पहिलो बैठकले सभामुखको निर्वाचन तिथि तोक्नेछ । प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले पहिलो बैठकको अध्यक्षता गर्नेछन् । उनका अनुसार आगामी २९ गते सभामुखको निर्वाचन गर्ने तयारी गरिएको छ।
एकैचोटि सभामुख र उपसभामुखको चुनाव गराउन नमिल्ने भएकाले पनि चाँडै गर्नुपर्ने बाध्यता रहको उनले बताए । माघ २४ मा राष्ट्रिय सभा निर्वाचन भएकाले त्यसलगतै सभामुखको निर्वाचन गराउनु परेको हो। प्रदेशसभाको पहिलो बैठक सुरु भएको १५ दिनभित्र प्रदेशसभाको सभामुख र उपसभामुखको चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
पहिलो बैठकको कार्यसूचीमा सभामुखको निर्वाचन मिति तोक्ने, प्रदेश संसद् सञ्चालनसम्बन्धी कार्यविधि र बैठक सञ्चालनसम्बन्धी निर्देशन पारित गर्ने, बैठक आहवानसम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाउने रहेको पौडेलले जानकारी दिए । सरकार निर्माण भइनसकेका कारण पहिलो बैठक लामो कार्यसूचीमा प्रवेश गर्न अप्ठ्यारो छ । पहिलो बैठक भएकाले प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई समय निर्धारण गरी दलगत धारणा राख्न दिने व्यवस्था गरिएको छ ।
सभामुख र उपसभामुखपछि मात्रै सरकारप्रदेश सभामुख र उपसभामुखको निर्वाचनपछि मात्रै सरकार निर्माण प्रक्रिया अघि बढ्ने भएकोछ । निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र मुख्यमन्त्री नियुक्ति गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यस आधारमा ढिलोमा पनि फागुन ५ भित्र मुख्यमन्त्री नियुक्ति भइसक्छ । कुनै पनि दलको बहुमत नआएको अवस्थामा बहुमत जुटाउने कसरत चल्ने हुँदा सरकार निर्माणमा ढिलाइ हुने हो ।
संविधानको धारा १६८ को १० मा प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त पार्टीको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुने उल्लेख छ । जसअनुसार एमालेले संसदीय दलको नेत चयन गरेर प्रदेश प्रमुखमा पठाउनासाथ सरकार निर्माण अघि बढ्नेछ । यस प्रदेशमा एमालेको एकल बहुमत भएका कारण सरकार निर्माण उसैको नेतृत्वमा हुने पक्कापक्की छ । कुल १ सय १० सदस्य सांसदमा एमालेको मात्रै ५८ सांसद छन् ।
एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबीच यस प्रदेशमा मुख्यमन्त्री र सभामुखसमेत एमालेले लिने सहमति भइसकेको छ । एमालेमा संसदीय दलको निर्वाचन भइनसकेका कारण को मुख्यमन्त्री हुने भन्नेबारे अझै अन्योल छ । यद्यपि मुख्यमन्त्रीका लागि अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौंलागाईं र रामेश्वर फुयालको चर्चा चलेको छ । यीमध्ये पाण्डे र शाक्यबाट एकजना संसदीय दलको नेता हुने एमालेका एक नेताले बताए ।
एमाले पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले राष्ट्रिय सभा निर्वाचनलगतै एमाले प्रदेश संसदीय दलको नेता चयन हुने बताए ।
दस वर्षअघि कागजी रूपमा कोरिएको संघीयता व्यवहारमै कार्यान्वयनमा आएको यो ऐतिहासिक क्षणको सांसद, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत समाजका सबै क्षेत्रका बासिन्दा प्रतीक्षारत छन् ।
एक सय १० सांसद रहेको यस प्रदेशमा ८ राजनीतिक दलको प्रतिनिधित्व छ । त्यसमा एमालेको एकल बहुमत अर्थात् ५८ सिट छ भने दोस्रो स्थानमा माओवादी केन्द्र छ । उसको २३, कांग्रेसको २१, विवेशील पार्टीको ३, मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा ९प्रजातान्त्रिक० र नयाँ शक्ति नेपालको एकरएक सिट छ ।