गणतन्त्र दिवसमा छुटेका कैदीले फेरी मच्चाए लुटपाट

Wednesday, January 31st, 2018 |

१७ माघ । काठमाण्डौँ । भक्तपुर सुर्यबिनायक नगरपालिका–८ गणेश चोक स्थित एक व्यक्तिको डेरामा प्रबेश गरी लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका ४० बर्षीय भोजबहादुर थापा मगर, सिन्धुलीको मरिन गाउँपालिका–८ बस्ने ४० बर्षीय मिलन भन्ने रत्नबहादुर तामाङ, काभ्रेको धुलिखेल नगरपालिका–१ बस्ने २६ बर्षीय बिष्णु भन्ने अमृत तामाङ्ग र धुलिखेल नगरपालिका–१० बस्ने २७ बर्षीय सानुकान्छा व्लोन रहेका छन् ।

उनीहरुले डेरा गरी बस्ने राम बहादुर तामाङको कोठाबाट गत माघ १० गते पेस्तोल खुकुरी देखाई धाक धम्की दिई हात खुट्टा डोरीले बाँधी नियन्त्रणमा लिएर कोठामा भएको नगद तथा सुनका बिभिन्न गरगहना मोवाईल समेत गरी करीव १६ लाख ७ हजार ९ सय रुपैयाँ बराबरको धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लुटपाट गरी लगेको बिभिन्न धनमाल सहित उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरु विरुद्ध बुधबार डाँका चोरी मुद्धामा आवश्यक कानूनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा पठाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न रही फरार रहेका अन्य व्यक्तिहरुको खोजी कार्य जारी छ ।

पक्राउ परेका उनीहरुबाट पगालेको सुनको ढिक्का साढे ६ तोला , मोवाइल १ थान, बा. ८३ प ३७७३ नम्वरको मोटरसाइकल १ थान, ज्याकेट समेत बारमद भएको छ । पक्राउ परेका भोज बहादुर थापा मगर र मिलन भन्ने रत्नबहादुर तामाङ यस भन्दा अगाडी पनि बिभिन्न डाँका तथा चोरी मुद्धामा संलग्न रहदै आएकोमा २०७४ सालको गणतन्त्र दिवसको उपलक्ष्यमा जेलबाट छुटेको खुल्न आएको प्रहरीले जनाएको छ ।

VIEWS: 280