एसईई परिक्षाबारे अखिल क्रान्तिकारीद्धारा जिशिअको ध्यानाकर्षण
१७ माघ, दोलखा । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी दोलखाले एसईई परिक्षामा विद्यार्थीहरुलाई पायक पर्नेगरी परिक्षा केन्द्रको व्यवस्था गर्न माग गरेको छ । अखिल क्रान्तिकारी दोलखाका अध्यक्ष रोशन खड्का, चन्द्र कुमार लामा लगाएत विद्यार्थी नेताहरुको टोलीले बुधवार जिल्ला शिक्षा अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै टाढा गएर परिक्षा दिँदा विद्यार्थीहरुलाई असुविधा हुने भन्दै सम्बन्धित नगर वा गाउँपालिकामै परिक्षा दिनसक्नेगरी केन्द्र निर्धारण गर्न माग गरेको हो ।
यस्तै अखिल क्रान्तिकारीले निजी र समुदायिक शैक्षिक संस्थाका विद्यार्थीहरुलाई मिश्रित ढंगले एउटै केन्द्र र कक्षामा परिक्षा दिने व्यवस्था हुनुपर्ने माग पनि अघि सारेको छ । अखिल क्रान्तिकारी दोलखाका अध्यक्ष खड्काले विद्यार्थीहरुको समस्या सम्वोधन हुनेगरी परिक्षा केन्द्र निर्धारणका लागि ज्ञापन पत्र मार्फत जिल्ला शिक्षा अधिकारीको ध्यानाकर्षण गरिएको जानकारी दिए ।
विद्यार्थी संगठनको मागका सन्दर्भमा जिल्ला शिक्षा अधिकारी गिता घिमिरेले सरोकारवाला पक्षसँग छलफल गरेर उपयुक्त निर्णयमा पुगिने प्रतिक्रिया दिएकी छिन् । यो बर्षको एसईई परिक्षा आगामी चैत्र ८ गतेदेखि सुरु हुँदैछ ।