आज बर्षौपछिको दुर्लभ चन्द्र ग्रहण– यस्तो छ, हेर्न हुने नहुने मान्यता

Wednesday, January 31st, 2018 |

१७ माघ, काठमाडौं । आज बुधवार अर्थात माघ शुक्ल पूर्णिमा, आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।
बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने जानकारी दिए । उनका अनुसार शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हाँस्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन । ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्न सकिने उनले बताए ।

धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएका बाहेकले हेर्नु हुँदन । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्न नहुने ज्योतिषशास्त्रीहरुको भनाई छ । यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको बताईएको छ । चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने छ । आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिन नपर्ने, खुला आँखाले पनि हेर्न सकिन्छ ।

VIEWS: 288