एमालेका कारण पार्टी एकता संकटमा–देवी खड्का
१६ माघ । दोलखा । नेकपा माओवादी केन्द्रकी पोलिट ब्युरो सदस्य देवी खड्काले एमालेका कारण दुई पार्टी बीचको एकता प्रक्रिया संकटमा पर्दै गएको बताएकी छिन् । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रिया लम्बिँदै गएका बेला पुर्ब राज्यमन्त्री समेत रहेकी नेतृ खड्काले एमाले भित्रको एउटा पक्ष र राष्ट्रिय अन्तराष्ट्रिय शक्ति केन्द्रहरुको चलखेलका कारण एकिकरण प्रक्रियामा शंका उत्पन्न भएको दाबी गरेकी हुन् ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन दोलखाको छैटौँ जिल्ला सम्मेलनलाई सदरमुकाम चरिकोटमा सम्बोधन गर्दै उनले पार्टी एकता हुन नसकेपनि एमालेसँगको गठबन्धन भने नतोडिने धारणा राखिन् । “पहिलो विकल्प पार्टी एकतानै हो, तर त्यो सम्भावना टर्दै गएको छ, खड्काले भनिन्, त्यो सम्भव नभए दोस्रो विकल्पमा एमालेसँगको गठबन्धन यथावत रहन्छ, दुई वटा पार्टी फरक फरक अस्तित्वमा रहन्छन्, त्यो सम्भावना बढि देखिँदैछ, ।” त्यो पनि सम्भव नभए गठबन्धन तोडिने र नयाँ गठबन्धनको सरकार बन्नसक्ने उनको धारणा छ ।
नेतृ खड्काको दावी अनुसार एमाले भित्रको एउटा पक्षले बीचमै सरकार ढाल्नसक्ने भन्दै पार्टी नेतृत्व माओवादी केन्द्रलाई हस्तान्तरण नगर्न दबाव बढाउनु र एकता विरोधी देशी विदेशी शक्तिकेन्द्रहरुको चलखेल बढ्नु एकता प्रक्रिया लम्बिँदै जानुको मुख्य कारण हो ।
सरकार र संसदिय फाँटमा प्राप्त जनमतका आधारमा पावर सेयरिङ हुने भएपनि पार्टी एकिकरण सम्मानजनक हुनुपर्ने र एमाले अध्यक्ष प्रधानमन्त्री हँुदा प्रचण्ड एकिकृत पार्टीको अध्यक्ष हुनुपर्ने उनले बताईन् ।
माओवादी केन्द्र दोलखाको ईन्चार्ज समेत रहेकी खड्काले फागुन महिनाभित्र पार्टीका २२ वटै जनबर्गिय संगठन पुर्नगठन गर्दै क्रियाशिल बनाउने र पार्टीको संगठित सदस्यता ७ हजारबाट दश हजार पु¥याउने योजना पनि सुनाईन् ।