जनप्रतिनिधिको कार्यशैलीबारे शिक्षक अगुवाहरु भन्छन् – निरंकुशता मान्दैनौँ
१६ माघ । दोलखा । दोलखाका शिक्षक संघ संगठनका अगुवाहरुले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले ज्यादती गर्न खोजेको भन्दै अस्वीकार गर्ने घोषणा गरेका छन् । ऐन, कानुन र निर्देशिकाको नाममा शिक्षकका पेशागत हक अधिकार कुण्ठित गर्ने प्रयास जनप्रतिनिधिहरुले गर्न खोजेको उनीहरुको आरोप छ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठनको छैटौँ जिल्ला सम्मेलनमा मंगलबार बोल्दै उनीहरुले स्थानीय सरकार हाँै भन्दै पञ्चायतकालिन शासन व्यवस्थाको झल्को दिनेगरी जनप्रतिनिधिहरुले गलत अभ्यास गर्न खोजेको गुनासो समेत पोखे । “विदा कटाउने, अयोग्य भन्दै शिक्षकहरुलाई हटाउने लगाएत शिक्षकहरुको सेवा, सुविधा खोस्ने प्रयास जनप्रतिनिधिहरुले गर्दैछन्, त्यस्तो खालको ऐन नियम हामी मान्दैनौँ, कार्यक्रममा शिक्षक महासंघ दोलखाका अध्यक्ष पदम जिरेलले भने ।”
स्थानीय तहको निर्वाचनपछि शिक्षक संघ संगठनको औचित्य सकिएको भन्ने कतिपय जनप्रतिनिधिहरुको भनाई प्रति पनि उनले आपत्ती जनाए । नेपाल राष्ट्रिय शिक्षक संगठनका संजय खड्काले शिक्षकलाई प्रयोग गरेर निर्वाचित हुने अनि शिक्षकमाथि नै गलत नियम लाद्न खोज्ने भन्दै शिक्षकहरुलाई बाईपास नगर्न चेतावनी दिए ।
यसैगरी एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य राम खड्काले नाजायज हिसावले जनप्रतिनिधिहरुले शिक्षकहरुमाथि अन्याय गर्न खोजेको धारणा राखे । नेपाल शिक्षक संघका तर्फबट बोलेका दिपशंकर चौलागाईले शिक्षकहरुको अधिकार खोस्न खोजिए चुप लागेर बस्दैनौँ भने ।
शिक्षक अगुवाहरुको उक्त अभिव्यक्तिपछि ३ नम्वर प्रदेश दोलखा १ नम्बर क्षेत्रका सांसद विशाल खड्काले संघ र प्रदेशको कानुनका आधारमा स्थानीय तहको ऐन कानुन बन्ने भएकाले आतंकित नहुन आग्रह गरे । “स्थानीय ऐन नियम तथा निर्देशिकालाई नियन्त्रण गर्ने संघ, प्रदेश कानुन बन्नै बाँकी छ, त्यसमा हामी विचार गर्छौ, त्यसैले शिक्षकहरु आँत्तिनु पर्दैन आस्वस्त पार्दैउनले भने ।” उनले मुख्य कानुनहरु नबन्दै उत्ताउलो तरिकाले निर्णयहरु नगर्न पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गंगा कार्की (विश्व), पोलिट व्युरो सदस्य तथा जिल्ला ईन्चार्ज देवी खड्का, सह ईन्चार्ज नर बहादुर पाख्रिन, बैत्यश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्य, कर्मचारी संगठनका जनकराज शिवाकोटी, ढाल बहादुर खड्का, यज्ञ खत्री, नारायण बुढाथोकी लगाएतले बँदलिदो परिस्थितिमा शिक्षकहरुको पेशागत हक अधिकार र भुमिका बारे चर्चा गरे । जिल्ला सम्मेलनले संगठनको नयाँ नेतृत्व पनि चयन गर्दैछ ।