कालिञ्चोक गाउँपालिकाको केन्द्रबारे यस्तो निर्णय गरिँदै
१० माघ, दोलखा । स्थानीय तहको निर्वाचन सम्पन्न भएको ९ महिना हुँदा समेत कालिञ्चोक गाउँपालिकाले आफ्नो केन्द्रबारे निर्णय गर्न सकेको छैन । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन भएको ६ महिनाभित्र गाउँपालिका केन्द्रबारे सिफारिस गरि पठाउन भनेको थियो ।
मन्त्रालयले पटक पटक ताकेता गरिरहेपनि विवादका कारण गाउँपालिका केन्द्रबारे निर्णय हुन नसकेको हो । तत्कालिन जिल्ला विकास समिति मातहत गठित प्राविधिक समितिले सुनखानीको आहालडाँडालाई गाउँपालिकाको अस्थायी केन्द्रको रुपमा सिफारिस गरेको थियो । तर उक्त स्थानका विषयमा विवाद भएपछि गाउँपालिकाले सुझावका लागि आयोग नै गठन गरेको थियो ।
आयोगले गाउँपालिका ४ को खुरुले, वडा नम्वर ५ को भिमसेनस्थान र वडा नम्वर ७ को आहालडाँडा मध्ये जहाँ तोकेपनि उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन पेश गरेको छ । आयोगले तीन वटै स्थान उपयुक्त भनेपछि गाउँपालिकाले अव सोही सुझावका आधारमा निर्णय गर्ने तयारी गरेको छ । अव बस्ने बैठकमा सहमतिको प्रयास गरिने र उक्त बैठकमा पनि सहमति नभए निर्णायार्थ गाउँसभा बोलाउने गाउँपालिकाको तयारी छ । गाउँपालिका उपप्रमुख कालिका पाठकले केन्द्र निर्धारण गर्न ढिलाई भएको स्वीकार गर्दै अव प्रक्रियामा लगेर भएपनि टुंगो लगाईने जानकारी दिईन् ।
गाउँपालिकाको १ देखि ४ नम्वर वडाका जनप्रतिनिधिहरु खुरुलेमा केन्द्र हुनुपर्ने पक्षमा लविङ गरिरहेका छन् भने ७, ८ र ९ नम्वर वडाका प्रतिनिधिहरु आहालडाँडामै हुनुपर्ने अडानमा छन् । ५ र ६ नम्वर वडाका प्रतिनिधिहरु भने लापिलाङ्गको भिमसेनस्थान उपयुक्त हुनुपर्ने बताईरहेका छन् । उक्त स्थान १ देखि ९ नम्वर वडाकै लागि उपयुक्त मानिएको छ । तर उक्त स्थानमा पर्याप्त सार्वजानिक जग्गा नभएको भन्दै केन्द्र राख्न नमिल्ने कतिपयको तर्क छ । गाउँपालिका केन्द्रका लागि ४० देखि ५० रोपनीसम्म जग्गा आवश्यक पर्छ ।
स्रोतका अनुसार गाउँपालिकाका पदाधिकारीहरुले धेरै विवाद भए प्रक्रियामा लैजाने र हालको अस्थायी केन्द्रलाई नै स्थायी बनाउने मनस्थिति बनाएका छन् । ४९ सदस्यीय गाउँसभाले वहुमतका आधारमा केन्द्रबारे निर्णय गर्नसक्ने व्यवस्था छ । ६ महिनामा पनि गाउँपालिका केन्द्रको टुंगो नलागे गाउँसभाको दुई तिहाई बहुमतबाट निर्णय गर्नुपर्ने हुन्छ । भिमसेनस्थानमा पर्याप्त जग्गा उपलव्ध हुन नसके आहालडाँडा वा खुरुले मध्ये एक गाउँपालिका केन्द्र हुनेछ । त्यस्तो अवस्थामा ५ र ६ नम्वर वडाका प्रतिनिधिहरु निर्णायक हुनेछन् ।
जिल्लाको दुई नगरपालिका सहित ९ स्थानीय तहमध्ये अन्यको केन्द्र निर्धारण भैसकेको छ ।