तामाकोसिको सेयर निष्काशनमा यसकारण ढिलाई ?
९, माघ । दोलखा । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसि जलविद्युत आयोजनामा जिल्लाबासिको १० प्रतिशत सेयर निष्काशनमा ढिलाई भएको छ । दोलखाको लामावगरमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमताको आयोजनामा जिल्लाबासिका लागि छुट्याईएको शेयर गत पुषमै निष्काशन गर्ने निर्णय जिल्ला समन्वय समितिको बैठकले गरेको थियो । तर माघको पहिलो साता बितिसक्दा समेत शेयर कहिले निष्काशन गर्ने विषयमा अन्यौल कायमै छ ।
आयोजना प्रमुख विज्ञान प्रसाद श्रेष्ठले धितोपत्र बोर्डबाट बिवरण पत्र स्वीकृत भैनसकेका कारण जिल्लाबासिको शेयर निष्काशनमा ढिलाई भएको जानकारी दिए । “धितोपत्र बोर्डबाट बिवरण पत्र स्वीकृतीका लागि ताकेता गरिरहेका छौँ, सम्भवतः छिट्टै स्वीकृत होला तर यही मितिमा हुन्छ भन्न सकिने अबस्था छैन, साझावोलीसँग कुरा गर्दै उनले भने ।”
आयोजनाका तर्फबाट शेयर सम्बन्धि बिवरण पत्र गत कात्तिक महिनामै पेश भएको थियो । तर अहिलेसम्म स्वीकृत नहुँदा आयोजनाले शेयर निष्काशन सम्बन्धि सूचना जारी गर्न पाएको छैन । आयोजना प्रवद्र्धक कम्पनी (अपर तामाकोसि हाईड्रोपावर लिमिटेड) का सचिव सुन्दर कुमार श्रेष्ठले जिल्ला समन्वय समितिले गरेको निर्णयकै आधारमा छिट्टै शेयर निष्काशनको तयारी भैरहेको जानकारी दिए ।
९२ प्रतिशत भन्दा बढि काम सकिँदा समेत जिल्लाबासि र सर्बसाधरणको शेयर संकलन हुन नसकेको हो । शेयर संकलनमा ढिलाई हुँदा आयोजनामा आर्थिक समस्या सिर्जना हुनसक्छ । आयोजना प्रवद्र्धक कम्पनी (अपर तामाकोसि हाईड्रोपावर लिमिटेड) ले जिल्लावासिका लागि छुट्याएको सेयर जिल्लाबासिलाई तीन बर्गमा छुट्याएर निष्काशन गर्ने निर्णय भैसकेको छ ।
पछिल्लो निर्णय अनुसार आयोजनाबाट क, ख र ग गरी जिल्लावासिलाई तीन वर्गमा विभाजन गरी सोही आधारमा न्युनतम ३० देखि अधिकतम ३ सय कित्तासम्म सेयर वितरण गरिनेछ । २०१८ को अन्तिमसम्म व्यापारिक उत्पादन सुरु गर्ने आयोजनाको लक्ष्य छ । आयोजनाको कुल लागत ३५ अर्व ३० करोड रहेकोमा त्यसको अतिरिक्त सरकारले ११ अर्व ८ करोड रुपैयाँ लगानी गर्नेछ ।